उदयपुरका उजाड जमिनमा खरबुजाखेती

शुक्रबार, १५ जेठ, २०८३
डिजिटल संस्करण

कुनै समय नदी कटानले उजाड र अनुपयोगी बनाएको बालुवायुक्त जमिन अहिले हरियालीले ढाकिएको छ । उदयपुरको चौदण्डीगढी नगरपालिका– ९, हडियाँस्थित त्रियुगा नदीआसपासको त्यही जमिनमा यतिवेला व्यावसायिक खरबुजाखेती फस्टाउँदै गएको छ ।

स्थानीय युवा कृषक पुलकित चौधरीले सुरु गरेको यो खेतीले उजाड जमिनलाई उत्पादन र आम्दानीको स्रोतमा रूपान्तरण मात्र गरेको छैन, कृषि क्षेत्रमा सम्भावनाको नयाँ सन्देशसमेत दिएको छ । उपयोगविहीन मानिएको जमिन अहिले रसिला खरबुजाले भरिएको देख्दा स्थानीयवासीसमेत उत्साहित भएका छन् ।

गर्मी मौसममा अत्यधिक रुचाइने फल खरबुजाको माग बढिरहेका वेला चौधरीले करिब साढे तीन बिगा क्षेत्रफलमा यसको व्यावसायिक खेती गरेका हुन् । मिहिनेत, समय र लगानीको उचित व्यवस्थापनले उत्पादनसमेत सन्तोषजनक भएको उनको भनाइ छ । 

यस वर्ष मात्रै करिब तीन हजार केजीभन्दा बढी खरबुजा उत्पादन गरी प्रतिकेजी ४० देखि ४५ रुपैयाँको दरमा खेतबाटै बिक्री भएको छ । स्थानीय बजारमा खरबुजाको माग राम्रो रहेकाले उत्पादन बिक्रीमा समस्या नभएको उनले सुनाए । उनले भने, ‘बजारबाट सकारात्मक प्रतिक्रिया पाएपछि आगामी वर्ष थप जमिनमा खेतीलाई नौ देखि १० बिगासम्म विस्तार गर्ने योजना बनाएका छौँ । त्यो आगामी वर्ष हुनेछ ।’

नदी कटानले बालुवामा परिणत गरेको जमिनमा अन्य बाली खासै नहुने रहेछ । तर, खरबुजालाई उपयुक्त हुने उनको अनुभव छ । चौधरीले भने, ‘केही नयाँ र दीर्घकालीन काम गर्नुपर्छ भन्ने सोच आयो । सुरुमा चुनौती थियो, तर अहिले उत्पादन राम्रो भएको छ । यसले थप उत्साह मिलेको छ । त्रियुगाका नदी किनाराका बगर प्रयोगमा ल्याउन सकिन्छ ।’ 

उनका अनुसार खरबुजा खेतीमा कुनै पनि प्रकारको रासायनिक विषादी प्रयोग गरिएको छैन। पूर्ण रूपमा अर्गानिक तरिकाले उत्पादन गरिएको खरबुजा स्वादिलो, रसिलो र स्वास्थ्यका हिसाबले सुरक्षित भएकाले स्थानीय बजारमा राम्रो माग रहेको उनको दाबी छ । 

खरबुजा खेतीलाई मात्रै सीमित नराखी चौधरीले बेमौसमी तरकारी उत्पादनको तयारीसमेत थालेका छन् । कृषि क्षेत्रलाई स्थायी आम्दानीको स्रोत बनाउने र दीर्घकालीन व्यवसायका रूपमा विकास गर्ने लक्ष्यसहित उनी अघि बढेका छन् । उनले भने, ‘कृषि पेसालाई व्यवस्थित बनाएर स्थानीय स्तरमै रोजगार सिर्जना गर्ने योजना छ,’ उनले भने । 

उनका अनुसार खेती विस्तारसँगै आगामी दिनमा ३० देखि ४० जनासम्मलाई प्रत्यक्ष रोजगारी दिन सकिने सम्भावना छ । वैदेशिक रोजगारीतर्फ आकर्षित भइरहेका युवालाई गाउँमै अवसर सिर्जना गर्न सकिने विश्वास उनले व्यक्त गरे । ‘कृषिमा अथाह सम्भावना छ, तर लगानी, प्राविधिक सहयोग र बजार व्यवस्थापनको अभावले धेरै किसान समस्यामा छन्,’ चौधरीले भने, ‘यदि स्थानीय सरकारले कृषि प्राविधिक, बजारीकरण र अनुदानमा सहयोग गर्यो भने अझ धेरै युवा कृषिमा आकर्षित हुन सक्छन् ।’ 

चौदण्डीगढी नगरपालिकाले पनि व्यावसायिक कृषिलाई प्राथमिकतामा राखेको जनाएको छ । नगरपालिकाका मेयर कालुमान लामाले विषादीरहित अर्गानिक उत्पादनले आफूलाई उत्साहित बनाएको बताउँदै किसानलाई आवश्यक सहयोगका लागि नगरपालिका सकारात्मक रहेको जानकारी दिए । ‘स्थानीय किसानको मिहिनेत र उत्पादनलाई सम्मान गर्नुपर्छ,’ मेयर लामाले भने, ‘नगरपालिकाले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर उत्पादन वृद्धि, आत्मनिर्भरता र रोजगारी सिर्जनाका कार्यक्रम सञ्चालन गरिरहेको छ । यस्ता नमुना खेतीलाई थप प्रोत्साहन गर्न आवश्यक छ ।’ 

कृषि ज्ञान केन्द्र उदयपुरका अनुसार जिल्लामा झन्डै ११ हेक्टर क्षेत्रमा खरबुजाखेती हुने गरेको छ । खेतीका लागि बलौटे वा दोमट माटो अत्यन्त उपयुक्त मानिन्छ । पानी नजम्ने यस्ता जमिनमा बिरुवाको वृद्धि राम्रो हुने र उत्पादनसमेत बढी हुने गर्छ । पर्याप्त घाम, न्यानो हावापानी र उचित सिँचाइ सुविधा भएका क्षेत्र खरबुजा उत्पादनका लागि विशेष अनुकूल मानिन्छन् । उदयपुरको त्रियुगा नदीआसपासका धेरै भूभाग बलौटे तथा दोमट माटोयुक्त भएकाले यहाँ व्यावसायिक खरबुजा खेतीको ठुलो सम्भावना रहेको कृषक बताउँछन् ।
 

सुझावित समाचार