नेपाललाई सहजै हराउँदै इरान फाइनलमा

बिहिबार, १४ जेठ, २०८३
डिजिटल संस्करण
नेपाललाई सहजै हराउँदै इरान फाइनलमा

तस्बिर : दिपेन्द्र ढुंगाना/नयाँ पत्रिका

घरेलु टोली नेपाललाई सोझो सेटमा हराउँदै इरान काभा महिला भलिबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ।

बिहीबार त्रिपुरेश्वरस्थित कभर्ड हलमा भएको खेलमा इरान सहज जित निकाल्न सफल भयो। नेपाल इरानसँग २५–२०, २५–१५ र २५–११ ले पराजित भयो। 

अब इरानले शुक्रबार फाइनलमा कजाकस्तानसँग खेल्नेछ। दिनको पहिलो सेमिफाइनलमा कजाकस्तानले भारतलाई सोझो सेटमा हराएको थियो। शुक्रबार नै नेपालले तेस्रो स्थानका लागि भारतसँग खेल्नेछ।

प्रशिक्षक जगदीश भट्टले प्लेइङ सेटमा कप्तान निरुता ठगुन्नालाई बाहिर राख्दै मीना सुनार, उषा भण्डारी, कामना बिष्ट,  प्रगति नाथ, सलिना श्रेष्ठ,  सुनिता खत्री र सुमित्रा रेग्मीलाई खेलाएका थिए। भट्टले पहिलो सेटमा सलिना बुढा मगरलाई अवसर दिएका थिए।

दोस्रो सेटमा पनि उनले कुनै परिवर्तन गरेनन्। कामनाको स्थानमा रिमा कुँवर, महिनाको स्थानमा कप्तान निरुता र सेलिनाको स्थानमा शान्तिकला तामाङलाई मौका दिएका थिए।

तेस्रो सेटमा भट्टले मिना र सुनितालाई बाहिर राख्दै कप्तान निरुता र रिमा कुँवरलाई अवसर दिएका थिए। तर पनि नेपाली टिम ब्लक, स्पाइक र सर्भिसमा चुकेको थियो।

यसअघि समूह ‘ए’मा रहेको नेपाल भारतसँग पराजित हुँदा किर्गिस्तान र माल्दिभ्सलाई हराउँदै सेमिफाइनलमा प्रवेश गरेको थियो। यही प्रतियोगिताबाट मिना, सलिना, एलिसा मानन्धर, बसन्ती साउद, सुनिता र जसमा महतोले अन्तर्राष्ट्रिय प्रतियोगितामा डेब्यु गरेका थिए।

सुझावित समाचार