गत वैशाख ३० गते सामाजिक परम्पराअनुसार जलेश्वरनाथ महादेव मन्दिरमा विवाह भएर लोहारपट्टी नगरपालिका क्षेत्रभित्र पर्ने ससुराली घर पुगेकी नवदुलही श्रीमानविरुद्ध वैवाहिक जबर्जस्ती करणीको मुद्दा लिएर प्रहरीमा पुगेकी छिन्। विवाहको नवौँ दिन ससुराली घरबाट प्रहरीको सहयोगमा उद्धार भएकी उनले श्रीमानविरुद्ध मन्जुरीबेगर पटकपटक जबर्जस्ती शारीरिक सम्बन्ध बनाएको साथै मरणासन्न हुने गरी कुटपिट गर्दै हिंसा गरेको भनी प्रहरीमा पुगेकी हुन्।
परिवारका अन्य सदस्यहरूले समेत दाइजो नल्याएको भन्दै कुटपिट गरेपछि यातना सहन नसकी घरबाट भागेर टोलनजिकै रहेको प्रहरी चौकीसम्म पुग्न खोज्दा बाटोबाटै परिवारले पुनः नियन्त्रणमा लिई घरमा लगेर खाटमा हातखुट्टासमेत बाँधेर मरनासन्न हुने गरी कुटपिट गर्दै यातना दिएको पीडितले बताइन्। जिल्ला प्रहरी कार्यालय महोत्तरीले मंगलबार वैवाहिक जबर्जस्ती करणी शीर्षकमा उनको मुद्दा दर्ता गर्दै उनको स्वास्थ्य परीक्षणलगायतका कानुनी प्रक्रिया बढाएको छ।
यसरी भएको थियो उद्धार
गत जेठ ८ गते जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी निरीक्षक विश्वम्भरनाथ साहको विशेष निर्देशनमा पीडितको ससुराली घरबाट उद्धार गरिएको थियो । छोरीले ससुरालीमा यातना पाइरहेको खबर पाएकाले अभिभावक छोरी भेट्न उनको ससुराली घर पुगेका थिए। छोरीको घर पुगेका अभिभावकसँग अमर्यादित व्यवहार गर्दै छोरीलाई भेट्नसमेत नदिएको र घरमै प्रवेश नदिएपछि छोरीसँग घरभित्र केही गलत भएको यकिन गर्दै पीडितका अभिभावकले प्रहरी निरीक्षक साहलाई गुहारेका थिए । सोलगत्तै उनले स्थानीय प्रहरीलाई उद्धार गर्न निर्देशन दिएका थिए।
यता पीडितकी आमाले छोरीको स्वास्थ्य अवस्था अझै पूर्ण ठिक नरहेको र नियमित उपचार गराइरहेको बताएकी छिन्। भारतमा विवाह भई आफ्नो माइती घर पिपरा गाउँपालिकामा भाडाको घरमा बस्दै आएकी पीडितकी आमाले परिवारको आर्थिक अवस्था दयनीय रहेकोले आफूभन्दा सुखी घरमा छोरीको विवाह गरेकोमा अहिले पछुतो भइरहेको बताइन्। पीडितको बुबा भाडाको इ–रिक्सा चलाउँछन् भने आमा अरूको घरमा भाँडा माझेर परिवार चलाउँदै आएकी छिन्। उनले छोरीको उद्धार गरेर ल्याएदेखि नै उपचारमा लागेको बताइन्।