राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुश्बु ओलीले संविधान संशोधन प्रक्रियामा सनातन हिन्दु राष्ट्र, संवैधानिक राजसंस्था तथा प्रदेश संरचनाको पुनरवलोकनजस्ता विषय अनिवार्य रूपमा समावेश गर्न सरकारसँग माग गरेकी छिन् ।
प्रतिनिधिसभा बैठकमा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाकी प्रमुख सचेतक ओलीले संविधान संशोधनका लागि गठित कार्यदलको प्रारम्भिक मस्यौदामा यी विषयहरू नसमेटिएको भन्दै असन्तुष्टि व्यक्त गरिन् ।
उनले वैदिक सनातन धर्म, राजसंस्था र प्रदेश खारेजीको पक्षमा रहेका नागरिकहरूको आवाजलाई सरकारले बेवास्ता गरेको आरोप लगाइन् । साथै, विगतमा जनताबाट संकलित सुझावहरूलाई उपेक्षा गरिएको स्मरण गर्दै यसपटक जनभावनालाई फेरि ‘डिजिटल बोरामा थन्क्याउने’ प्रयास नगर्न सरकारलाई चेतावनी दिइन्।