पत्रकार श्रेष्ठमाथिको धरपकड प्रयासमा महासंघको विरोध

मंगलबार, १२ जेठ, २०८३
डिजिटल संस्करण

वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई सरकारले धरपकड गर्न खोजेको भन्दै नेपाल पत्रकार महासंघले विरोध गरेको छ । समाचार लेखेकै आधारमा श्रेष्ठमाथि भइरहेका व्यवहार स्वतन्त्र प्रेस र लोकतन्त्रमाथिकै प्रहार भएको महासंघले जनाएको छ ।

महासंघले सोमबार विज्ञप्ति जारी गर्दै सरकारले श्रेष्ठविरुद्ध अख्तियार गरेको सबै प्रकारका व्यवहारलाई निन्दा गरेको छ । ‘समाचार लेखेकै आधारमा श्रेष्ठमाथि भइरहेका व्यवहार स्वतन्त्र प्रेस र लोकतन्त्रमाथिकै प्रहार भएको महासंघको बुझाइ छ । यसप्रकारको व्यवहारको महासंघ निन्दा गर्दछ,’ विज्ञप्तिमा भनिएको छ, ‘महासंघ प्रेसविरोधी व्यवहार सच्याउन र समाचारप्रति विमति भए प्रेस काउन्सिल नेपालमार्फत समाधान खोज्न सम्बद्ध पक्षसँग माग गर्दछ । साथै, पत्रकार श्रेष्ठलाई धम्क्याउने व्यक्तिको पहिचान गरी तत्काल कानुनी कारबाही गर्न जोडदार माग गर्दछ ।’

समाचारसँग सम्बन्धित विषयलाई लिएर पत्रकार श्रेष्ठलाई प्रहरीले निगरानी गर्दै धरपकडको प्रयास भएको र विभिन्न व्यक्तिबाट धम्की दिइएकोमा महासंघको ध्यानाकर्षण भएको जनाएको छ ।

केही दिनअघि जनआस्था साप्ताहिक र जनआस्थाडटकममा मन्त्री र सत्ताधारी दलका नेताको बारेमा आलोचनात्मक समाचार प्रकाशित भएपछि श्रेष्ठले यसप्रकारको व्यवहार झेल्नुपरेको महासंघ काठमाडौ शाखाले जनाएको छ ।

सुझावित समाचार