भुटानलाई १–० ले हराउँदै नेपालले साफ महिला च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। सोमबार गोवाको जवाहरलाल नेहरू रंगशालामा नेपालले तीन अंक हासिल गरेको हो।
योसँगै समूह ‘ए’बाट नेपालको सेमिफाइनल सम्भावना बलियो बनेको छ। अब, नेपालले आइतबार श्रीलंकासँग खेल्नेछ। समूहमा नेपालको तीन अंक छ। त्यसअघि नै श्रीलंका र भुटानबिच बिहीबार प्रतिस्पर्धा हुनेछ।
सोमबार नेपालले खेलको २३औँ मिनेटमा गोल गरेको हो। रक्षक गीता रानाको प्रहार भुटानकी इडोनलाई लाग्दै गोल भएको थियो।
खेलभर नेपालले थुप्रै गोलको अवसर बनाएपछि सदुपयोग गर्न सकेन। रेखा पौडेल, अनिता लम्जेल, रश्मीकुमारी घिसिङ, मीना देउवालगायतका खेलाडी बारम्बार गोल अग्रता बढाउन चुकेका थिए।
यो खेलसँगै गोलकिपर तथा कप्तान अञ्जिला तुम्बाप्पो सुब्बाले अर्को क्लिनसिट राखेकी छिन्।