कान्सबाट फर्कियो ‘एलिफेन्ट्स इन द फग’को टिम

सोमबार, ११ जेठ, २०८३
डिजिटल संस्करण

विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभलमा ऐतिहासिक उपलब्धि हासिल गरी स्वदेश फर्किएकाे नेपाली फिल्म  ‘एलिफेन्ट्स इन द फग’को टिमलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ।

निर्देशक अविनाशविक्रम शाह, निर्माता अनुप पौडेल र कलाकार पुष्पा थिङ लामासहितको टिमलाई नौमती बाजा बजाउँदै फूलमालाले स्वागत गरिएको हो। चलचित्रले कान्सको ‘एलिफेन्ट्स इन द फग’ले कान्सको ‘अन सर्टेन रिगार्ड’ विधामा प्रतिष्ठित ‘जुरी प्राइज’ जितेको हो ।  

स्वागत कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिना, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेल, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलिया, चलचित्र क्षेत्रका १४ संघसंस्थाका प्रतिनिधि, चलचित्रकर्मी तथा सञ्चारकर्मीहरूको उपस्थिति थियो। चलचित्र निर्देशक समाज र कलाकार संघका पदाधिकारी तथा कार्यसमिति सदस्यहरू पनि स्वागत कार्यक्रममा ब्यानरसहित सहभागी थिए।

मन्त्रीद्वयले फिल्म टोलीलाई बधाई दिँदै यो उपलब्धिले सिंगो नेपाली चलचित्र क्षेत्र र नेपाली संस्कृतिलाई अन्तर्राष्ट्रिय मञ्चमा गौरव गर्ने अवसर प्रदान गरेको बताए । सञ्चारमन्त्री तिमिल्सिनाले फरक धारका सिनेमालाई राज्यले प्रोत्साहन गर्ने नीति अघि बढाइने बताए । यस्तै, संस्कृति तथा पर्यटनमन्त्री पौडेलले चलचित्रकर्मीहरू मुलुकका अवैतनिक सांस्कृतिक दूत भएको उल्लेख गरे ।

सूचना तथा सञ्चार मन्त्रालयले चाँडै विशेष कार्यक्रम आयोजना गरी फिल्म टिमलाई सम्मान गर्ने तयारी गरेको छ। चलचित्र विकास बोर्डले पनि यसै साता कार्यक्रम आयोजना गरी फिल्म टिमलाई दुई लाख ५० हजार प्रदान गर्ने भएको छ।  ‘एलिफेन्ट्स इन द फग’ को उपलब्धिले नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय मञ्चमा नयाँ आत्मविश्वास दिएको छ। 

See More On

सुझावित समाचार