शारदा मेयर कप टी–२० क्रिकेटको उपाधि शारदा नगरपालिकालाई

आइतबार, १० जेठ, २०८३
डिजिटल संस्करण

तेस्रो शारदा मेयर कप टी–२० क्रिकेट प्रतियोगिताको उपाधि शारदा नगरपालिकाले उचालेको छ। सल्यान खलंगा लुहापिङ खेलमैदानमा आइतबार सम्पन्न प्रतियोगितामा साविक विजेता बागचौर नगरपालिकालाई ५ विकेटले हराउँदै शारदाले उपाधि हात पार्न सफल भएको हो।

टस जितेर पहिले व्याटिङ गरेको बागचौरले १८.५ ओभरमा सबै विकेट गुमाउँदै १०९ रनको लक्ष्य प्रस्तुत गरेको थियो। बागचौरका लागि क्याप्टेन वामदेव केसी १९, निर्मल डाँगी १६, सूर्य सुनार १४ र गोविन्द वलीले १२ रन बनाउँदा अन्य व्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्। शारदा नगरपालिकाका चन्द्र बहादुर बुढाले ३.४ ओभरमा १२ रन खर्चेर दुई विकेट लिन सफल भए। यस्तै सन्दीप गन्धर्वले ४ ओभरमा २१ रन दिएर समान दुई विकेट लिए।

११० रनको लक्ष्य पछ्याएको शारदाले १४.५ अभोरमा ५ विकेट गुमाउँदै ११३ रन जोड्यो। शारदा नगरपालिकालाई जित दिलाउन चन्द्रबहादुर बुढाले ६३ र मदन खत्रीले २१ रन बनाउन सफल भए। बागचौरका गगन ओलीले १.५ ओभरमा ९ रन खर्चेर २ तथा हेमराज बस्नेतले १ विकेट निकाले।

विजेता शारदा नगरपालिकाले नगद १ लाख प्राप्त गर्दा उपविजेता बनेको बागचौर नगरपालिकाले ५० हजार रुपैयाँमा चित्त बुझाउन परेको छ।

एक हप्तासम्म सञ्चालन भएको प्रतियोगितामा शारदा नगरपालिकाका चन्द्र बहादुर बुढा प्लेयर अफल द म्याच घोषित भए। बुढा नै प्लयेर अफ द टुनामेन्ट जित्दा शारदा नगरपालिकाका सन्दिप गन्धर्व वेस्ट प्लेयर, कुमाख गाउँपालिकाका सचिन विक वेष्ट व्याटर, त्रिवेणी गाउँपालिकाका मोहन केसी वेष्ट विकेटकिपर, शारदा नगरपालिकाका सन्दिप गन्धर्व वेस्ट फिल्डर र शारदाकै आरुष विष्ट इमर्जिङ प्लेयर घोषित भए।

सुझावित समाचार