आइसिसी विश्वकप लिग–२ : घरेलु सिरिजमा नेपालको सानदार प्रदर्शन

पछिल्ला आठमध्ये ६ खेलमा जित निकाल्दा बढ्यो नेपालको एकदिवसीय मान्यता जोगिने सम्भावना

शनिबार, ९ जेठ, २०८३
डिजिटल संस्करण
आइसिसी विश्वकप लिग–२ : घरेलु सिरिजमा नेपालको सानदार प्रदर्शन

अर्धशतक पूरा गरेपछि कप्तान रोहित पौडेलसँग खुसी साट्दै ईशान पाण्डे । तस्बिर : दिपेन्द्र ढुंगाना/नयाँ पत्रिका

नेपालले लगातार आइसिसी विश्वकप क्रिकेट लिग–२ को दुईवटा घरेलु सिरिजमा उत्कृष्ट प्रदर्शन गरेको छ । नेपालले समग्रमा एक महिनाको अन्तरमा आठमध्ये ६ खेलमा जित निकाली महत्वपूर्ण १२ अंक जोड्यो । गत वैशाखमा नेपाल ओमान र युएईसँग प्रतिस्पर्धा गर्नुअघि अंकतालिकाको सातौँ स्थानमा थियो । अहिले लिग–२ कै शीर्ष दुई टोलीविरुद्धको प्रतिस्पर्धापछि नेपालले पाँचौँ स्थान बलियो बनाएको छ ।

नेपालले चौथो स्थानको नेदरल्यान्ड्ससँग चार अंकको दूरी छोट्याएको छ भने छैटौँ स्थानको नामिबियाविरुद्ध दुई अंकको स्पष्ट अग्रता लिएको छ । अब नेपालले अगामी सिरिजमा यिनै नेदरल्यान्ड्स र नामिबियाविरुद्ध प्रतिस्पर्धा गर्नेछ । घरेलु सिरिजमा उत्कृष्ट प्रदर्शन गरेको नेपालले अब अवे सिरिजमा चुनौतीको सामना गर्नुपर्ने हुन्छ । नेपालले गत वैशाखमा युएईलाई दुई र ओमानलाई एक खेलमा हराएको थियो । यसपटक नेपालले शीर्ष स्थानको अमेरिकामाथि दुई र स्कटल्यान्डलाई एक खेलमा पाखा लगायो ।

नेपाल स्कटल्यान्डसँग डकवर्थ लेविसअनुसार झिनो दुई रनले पराजित भयो । अंकतालिकामा नेपालले २८ खेलबाट २४ अंक जोडेको छ । शीर्ष स्थानको अमेरिकाले २८ खेलबाटै ३८ अंक बनाएको छ । दोस्रो स्थानमा रहेको स्कटल्यान्डले ३२ खेलबाट ३८ अंक नै जोडेको छ । रनरेटमा स्कटल्यान्ड अमेरिकासँग पछि परेको हो । नेपालले पछिल्ला आठ खेलमा अंक मात्र बटुलेन, रनमा समेत सुधार गरेको छ ।

त्रिवि क्रिकेट मैदानमा नेपालले घरेलु सिरिजकै अन्तिम खेलमा अमेरिकामाथि रवाफिलो प्रदर्शन गरी एक सय २२ रनको फराकिलो जित निकाल्यो । यो शृंखलापछि नेपालको शीर्ष चारमा रहेर आगामी चार वर्षका लागि एकदिवसीय यात्रा कायम राख्ने सम्भावना निकै बढेको छ ।

ब्याट्सम्यानको संयमित ब्याटिङ
पहिलो ब्याटिङ गरेको नेपालले अमेरिकाविरुद्ध पुनः एकपटक संयमित भएर ब्याटिङ गर्यो । नेपालले पहिलो ब्याटिङ गर्दै ५० ओभरमा आठ विकेट गुमाएर तीन सय १७ रनको योगफल बनायो । एकदिवसीय इतिहासमा यो नेपालको दोस्रो ठुलो योगफल हो । यसअघि नेपालले सन् २०२५ को ८ जुनमा स्कटल्यान्डविरुद्ध तीन सय २१ रनको प्रदर्शन गरेको थियो । नेपाले एकदिवसीय इतिहासमा तीनपटक तीन सय रनमाथिको योगफल बनाएको छ । नेपालले पहिलोपटक सन् २०२३ मा ओमानविरुद्ध त्रिवि मैदानमै ३१०/८ को स्कोर गरेको थियो ।

शुक्रबार नेपालले दिएको तीन सय १८ रन लक्ष्य पछ्याएको अमेरिका ४११.२ ओभरमा एक सय ९५ रनमा समेटिँदा नेपाल एक सय २२ रनको अन्तरले विजयी भयो । नेपालको ब्याटिङमा शीर्ष पाँच ब्याट्सम्यानले उत्कृष्ट योगदान दिए । खेलकै म्यान अफ दी म्याच ईशान पाण्डेले ८३ बलमा ८४ रनको योगदान दिँदै नेपालको जित आधार खडा गरे । उनले आठ चौका र एक छक्का प्रहार गरे । यसैगरी, उपकप्तान दीपेन्द्रसिंह ऐरीले ३६ बलमा समान चार चौका र छक्का प्रहार गरी ५९ रनको योगदान दिए । उनी उगाकारबाट रनआउट भएका थिए । नेपालको ब्याटिङ इनिङ्समा चार विकेटका लागि राम्रो साझेदारी भएको थियो ।

ओपनर कुशल भुर्तेल र आसिफ शेखले ७७ बलमा ६९ रनको साझेदारी गरे । ईशानले आसिफसँग दोस्रो विकेटका लागि ३४ बलमा १५ रन बनाए । त्यसपछि इसानले कप्तान रोहित पौडेलसँग पुनः एकपटक उत्कृष्ट साझेदारी गर्दै नेपाललाई बलियो अवस्थामा राखे । उनीहरूले यसअघि स्कटल्यान्डसँगको खेलमा पनि महत्वपूर्ण साझेदारी गरेका थिए । यसपटक दुवैले अमेरिकाविरुद्ध तेस्रो विकेटका लागि एक सय १७ बलमा एक सय १० रनको साझेदारी गरे । त्यसपछि दीपेन्द्र र गुल्सन झाबिच पाँचौँ विकेटका लागि २९ बलमा ४७ रन तथा आरिफ शेखले दीपेन्द्रसँग छैटौँ विकेटका लागि १८ बलमा ३८ रन जोडेका थिए ।

दुई अर्धशतकीय इनिङ्स
नेपालको ब्याटिङमा दुई अर्धशकीय इनिङ्स देखियो । ईशानले नेपाललाई बलियो अवस्थामा पुर्याएपछि उपकप्तान दीपेन्द्रले पनि आक्रामक रूपमै ब्याटिङ गरे । उनले ५९ रनको योगदान दिए । ओपनर कुशलले ३९ बलमा पाँच चौकाको सहयोगमा २९ रन बनाए । आसिफले ५७ बलमा ६ चौकाका साथ ४३ रन बनाए । यसैगरी, कप्तान रोहितले ५९ बलमा एक छक्का र दुई चौका प्रहार गरी ४६ रन जोडे । गुल्सनले १२ बलमा १५ रन तथा आरिफले १० बलमा दुई छक्का प्रहार गरी १८ रन बनाए । अमेरिकाका लागि सुभम रञ्जितले ६१ रन खर्चेर तीन विकेट लिए ।

अमेरिकाविरुद्ध स्पिनर हाबी 
नेपाली बलर हाबी भएपछि विश्वकप लिग–२ को १०८औँ खेलमा अमेरिकाको ब्याटिङ चल्न सकेन । नेपालका लागि पुनः एकपटक सन्दीप घातक देखिए । उनले १० ओभरमा एक मेडन राखी ३० रन खर्चेर सर्वाधिक तीन विकेट लिए । यसै सिरिजमा उनले कम खेलमा एक सय ५० विकेटको विश्व कीर्तिमान राखेका थिए । यसैगरी, स्पिनर ललित राजवंशीले १० ओभरमा ३८ रन दिएर दुई विकेट लिए । दीपेन्द्रले ४.२ ओभरमा २६ रन दिएर दुई विकेट र गुल्सनले पनि दुई नै विकेट लिँदा अमेरिका लक्ष्य नजिकसम्म पुग्न सकेन ।

सञ्जय कृष्णमूर्तिले ४४ बलमा सर्वाधिक ५६ रन बनाए । सायन जाहन्गिरले २७ तथा सेवामा जयासुरियाले २६ रनको योगदान दिए । जयासुरिया र जहान्गिरले दोस्रो विकेटका लागि ५९ बलमा सर्वाधिक ५३ रनको साझेदारी गरेका थिए । चौथो बलमै ओपनर स्मिथ पटेललाई सोमपाल कामीले विकेटकिपर आसिफ शेखबाट क्याच गराएपछि अमेरिका दबाबमा आएको थियो । 

See More On

सुझावित समाचार