हुम्लामा मध्यराति बाढीको कहर

बिहिबार, ७ जेठ, २०८३
डिजिटल संस्करण

हुम्लाको चंखेली गाउँपालिका– ५, नेप्काको मेला गाउँमा मंगलबार राति असिनापानीसँगै आएको भलबाढीले घरगोठ पुर्नुका साथै पशुधनको क्षति गरेको छ । बाढीले स्थानीय डाँफे आधारभूत विद्यालय भत्काएको जिल्ला प्रशासनले जनाएको छ  । कक्षा ८ सम्म अध्यापन हुने यो विद्यालयमा १०५ बालबालिका अध्ययनरत छन् ।

प्रशासनले जारी गरेको विज्ञप्तिअनुसार स्थानीय रतनसिंह तामाङको गोठमा रहेका ४३ भेडा मरेका छन् । वडाध्यक्ष हर्कधन तामाङ र स्थानीय धनसिंह तामाङको गोठसमेत पहिरोले पुरेको छ  । यसपटकको बाढीले कोदो लगाउने अधिकांश खेतीयोग्य जमिन बगाएको छ ।

वडाध्यक्ष तामाङले भने, ‘जग्गा त तहसनहस पारेर केही बाँकी राखेको छैन, सबै सखाप भयो ।’ यस्तै, बाढीका कारण गाउँमा आपूर्ति हुँदै आएको खानेपानीको पाइप र ट्यांकीमा क्षति पुगेको छ । स्थानीय साना जलविद्युत् आयोजनाको संरचनामा बाढीले क्षति पुर्याएपछि सिंगो गाउँ अन्धकारमय बनेको छ । भौगोलिक विकटता र सञ्चार अवरोधका कारण क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको हुम्लाका सिडिओ टेककुमार रेग्मीले बताए ।

सुझावित समाचार