धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले साइपालको आधार शिविर रानीसैन तथा त्यसको नजिक रहेको लाम्पाटा क्षेत्रमा दुई जिल्लाबिच सीमा विवाद रहेको र त्यसै कारण त्यहाँ असहज परिस्थिति उत्पन्न भएकोबारे आफूलाई जानकारी नभएको बताएका छन् ।
साइपाल जान लाम्पाटा पुगेको नगरप्रमुख हमाल नेतृत्वको धनगढी उपमहानगरपालिकाको ३० जनाको टोलीलाई हुम्लाका स्थानीयले मंगलबार साइपाल जान अवरोध गर्दै फर्काइदिएका थिए। हुम्लाको सर्केगाड गाउँपालिकाको रिप तथा खार्पुनाथ गाउँपालिकाको राय र थाली गाउँका स्थानीयले टोलीमाथि आक्रमणको प्रयास गर्दै लखेटेका थिए।
उनीहरूले बाजुराको हिमाली गाउँपालिकाको टोलीमाथि मंगलबार आक्रमण गर्दा ६ जना घाइते भएका छन्। घाइतेमध्ये ४ जनालाई थप उपचारका लागि सुर्खेत लगिएको छ।
नगरप्रमुख हमालले पर्यटन प्रवर्द्धनको पवित्र उद्देश्य लिएर आफूहरू साइपाल जान लाग्दा अवरोध भएको बताए। रानीसैन सुन्दर ठाउँ छ। पर्यटक बढे भने यहाँका मानिसलाई सहज होला । ग्रामीण भेगमा रोजगारी सिर्जना होला भन्ने पवित्र उद्देश्यले प्रचारप्रसार गर्न यहाँ आएका हौँ, घटनाबारे कुरा गर्दै उनले भने, रानीसैन पुग्न पाँच घण्टा बाँकी थियो। काठको पुल भत्काउन खोजे, उता पनि जान नदिने, यता पनि आउन नदिने भयो।
उक्त क्षेत्रमा सीमा विवाद रहेकोबारे आफूलाई जानकारी नभएको हमालले बताए । आफूहरू यहाँ आउनुअघि नै भ्रमण तालिकासहित जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराएको, तर प्रशासनले विवादबारे जानकारी नदिएको उनले बताए।
धनगढीको टोली त्यहाँ पुग्नुअघि नै हिमाली गाउँपालिकाको टोलीमाथि आक्रमण भएको उल्लेख गर्दै उनले धनगढीको टोलीले ड्रोन उडाएका कारण घटना भएको भनेर गलत प्रचार गरिएको भन्दै खेद प्रकट गरे।
'३ गते नै घटना घटिसकेको रहेछ। वडासदस्यलाई कब्जामा राखिएको रहेछ। हामी त ५ गते पुगेका हौँ। हामी पुग्नुअघि नै हिमालीको टोलीमाथि आक्रमण भएको थियो। त्यसैले ड्रोन उडाएर घटना भयो भन्नु अफवाह हो,' उनले भने, 'हामी ३१ गते धनगढीबाट हिँड्यौँ । २९ गते नै बाजुरा र अछामका प्रमुख जिल्ला अधिकारीलाई भ्रमण तालिकासहित जानकारी गराएका थियौँ। हामी यत्रो दिन हिँड्यौँ, तर हामीलाई कुनै सूचना दिइएन। यस्तो छ भन्ने सूचना पाएको भए हामी आउने थिएनौँ।'