पदयात्राका लागि विश्वकै १० उत्कृष्टमध्येको एक अन्नपूर्ण पदमार्गमा २० जेठमा छैटाैँ संस्करणको म्याराथन हुने भएको छ। ‘सबै मौसमका लागि पर्यटन’ भन्ने मूल नाराका साथ अन्नपूर्ण सेन्चुरी पर्यटन समिति, घान्द्रुक, कास्कीको आयोजनामा अन्नपूर्ण म्याराथन हुन लागेको हो।
म्याराथनको तयारी ९० प्रतिशत सकिएको आयोजकले बुधबार पोखरामा पत्रकार सम्मेलन गरी जानकारी दिएका छन्। अन्नपूर्ण आरोहण दिवस अर्थात् ३ जुनमा हुने म्याराथनमा सहभागिताको लागि १५ जेठसम्म नाम दर्ता गर्न सकिने आयोजक समितिका अध्यक्ष एवं म्याराथन मूल आयोजक समितिका संयोजक ललित गुरुङले बताए।
महिला र पुरुषबिच छुट्टाछुट्टै प्रतिस्पर्धा हुने म्याराथनमा सहभागिताको लागि बुधबारसम्म आठ देशका १३ विदेशीसहित ४० धावकले नाम दर्ता गराएका छन्। यसपटक अर्जेन्टिनाका चर्चित धावक पाब्लो उरेटालगायत विदेशका केही चर्चित धावकहरूसँगै नेपाली मिरा राईलगायतले सहभागिता जनाउने कार्यक्रममा जानकारी दिइयो।
चार हजार १३० मिटर उचाइमा रहेको अन्नपूर्ण आधार शिविरबाट सुरु हुने ४२.१९५ किलोमिटरको म्याराथन माछापुच्छ्रे आधार शिविर, बगर, देउराली, हिन्कु केभ, हिमालय, दोभान, बम्बो, सिनुवा, भनुवा, छोम्रोङ, तउलु, घुर्जुङ, चुइले, मेलाँचे, कोम्रोङडाँडा, किम्रोङखोला, उरी हुँदै एक हजार ९५५ मिटर उचाइमा रहेको घान्द्रुकस्थित श्री मेश्रम वराह माविको खेल मैदानमा आएर सम्पन्न हुनेछ।
एभरेस्ट म्याराथन पछिको साहसिक रुटको रूपमा रहेको म्याराथनमा सुरक्षालाई पहिलो प्राथमिकता दिँदै सहभागी सम्पूर्ण धावकहरूको विमासँगै प्रतियोगितको दिन केही परे उद्धारका लागि हेलिकोप्टर तयारी अवस्थामा राखिने भएको छ।
महिला पुरुष दुवैतर्फ प्रथम हुने धावकले एक लाख ५० हजार, दोस्रोले एक लाख, तेस्रोले ७५ हजार पाउनेछन्। म्याराथनमा सहभागिताका लागि सात हजार दर्ता शुल्क तोकिएको छ। म्याराथनको सम्पूर्ण प्राविधिक काम हिमालयन एक्ट्राईले गर्नेछ। म्याराथन सम्पन्न गर्न करिब ३८ लाख खर्च हुने अनुमान गरिएको छ।
उक्त रकम अन्नपूर्ण गाउँपालिका, नेपाल पर्यटन बोर्ड, पोखरा महानगरपालिका, छोम्रोङ पर्यटन व्यवस्थापन समिति, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजन (एक्याप) राष्ट्रिय प्रकृति संरक्षण कोष, पोखरा महानगरपालिका, घान्द्रुक पर्यटन व्यवस्थापन समिति, टाँडापानी पर्यटन व्यवस्थापन समिति, राष्ट्रिय खेलकुद परिषद्, प्रदेश खेलकुद परिषद् गण्डकी, अन्नपूर्ण काठमाडौं समाज नेपाल, गुरु आनन्द फाउन्डेसन, अर्ना बियर, माछापुच्छ्रे बैंक, होटेल रक एन्ड मुड, घान्दु्रक रिसोर्टसँगै अन्य संघसंस्थाले सहयोग गर्नेछन्।