नेपालमा प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) आकर्षण गर्न नीतिगत स्थिरता र कानुनी सुधार आवश्यक रहेको सरोकारवालाले औँल्याएका छन् । अस्थिर नीति तथा कानुनले लगानी आकर्षण नहुने भन्दै उनीहरूले यसका लागि वर्तमान सरकारले दिगो र वास्तविक सुधार गर्नुपर्नेमा जोड दिएका हुन् ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले सोमबार काठमाडौंमा आयोजना गरेको ‘नेपालमा प्रत्यक्ष विदेशी लगानीको गाँठो कसरी फुकाउने’ विषयक अन्तर्क्रियाका वक्ताहरूले विदेशी लगानी तथा प्रविधि भित्र्याउन नेपालले नीतिगत, कानुनी, प्रक्रियागत तथा व्यवहारगत सुधार गर्नुपर्ने औँल्याएका हुन् ।
अधिवक्ता सेमन्त दाहालले पुँजीलाई आदर (रेस्पेक्ट) गर्ने ठाउँमा मात्रै वैदेशिक लगानी आउने भन्दै त्यसतर्फ नेपालले ध्यान दिनुपर्ने बताए । ‘पुँजी भन्ने कुरा डरपोक हुन्छ, डराउने भयो भने पुँजी भागिहाल्छ, डरविहीन वातावरणमा मात्रै पुँजी आकर्षित हुन्छ,’ उनले भने, ‘त्यसैले नेपालले विदेशी लगानी आकर्षणका लागि दिगो र वास्तविक सुधार गर्दै अनुकूल वातावरण बनाउनुपर्छ ।’
बहुराष्ट्रिय कम्पनी सूर्य नेपालका उपाध्यक्ष रवि केसीले उद्योगका लागि सबैभन्दा अनुकूल ठाउँ भए पनि अपेक्षाअनुसार लगानी आकर्षित हुन नसकेको बताए । खासगरी जग्गा उपलब्ध नहुने, औद्योगिक पूर्वाधारको विकास नभएको तथा नीतिगत अस्थिरताका कारण लगानी आकर्षित हुन नसकेको उनको भनाइ थियो । ‘वातावरण, बजारको सामीप्यता, हरित ऊर्जाको उपलब्धतालगायत कारणले उद्योग राख्न संसारको सबैभन्दा उपयुक्त ठाउँ नेपाल हो,’ उनले भने, ‘तर, लगानी किन आइरहेको छैन ? किनभने यहाँ करको झमेला छ, नीतिगत स्थायित्व हुन सकेको छैन र जग्गाको समस्या छ ।’
नेपाल–इन्डिया चेम्बर अफ कमर्स (निक्की)को इन्डिया विजेन फोरम कमिटीका सहसंयोजक सैबल घोषले ट्रेडमार्क (बौद्धिक सम्पत्ति)को चोरी भएका कारणसमेत कतिपय बहुराष्ट्रिय कम्पनीले नेपालमा उत्पादन सुरु गर्न नसकेको औँल्याए । उनले आजको दिनमा विदेशी लगानीको आकारभन्दा पनि त्यसले गर्ने व्यवसाय र रोजगारीलाई ध्यान दिनुपर्ने बताए ।