आगलागीपीडितलाई नगरको राहत

मंगलबार, ५ जेठ, २०८३
डिजिटल संस्करण

सिराहाको लहान नगरपालिका– १५, लग्राहा गाउँका आगलागीपीडित एक परिवारलाई नगरपालिकाले खाद्यान्नसहितको राहत सामग्री उपलब्ध गराएको छ । नगरप्रमुख महेशप्रसाद चौधरीले सोमबार अपराह्न बस्तीमै पुगेर पीडित स्थानीय लीलामाया थापामगरको परिवारलाई एक क्विन्टल चामल, दाल, नुन, तेल, प्रेसरकुकर, कराही र दुई थान त्रिपालसहितको राहत सामग्री हस्तान्तरण गरेका हुन् । राहत सामग्री हस्तान्तरण गर्दै उनले प्राकृतिक प्रकोपले पीडित परिवारलाई तत्काल खान, ओत लाग्नका लागि राहतस्वरूप खाद्यसामग्री र भाँडावर्तन हस्तान्तरण गरिएको बताए ।  

‘आगलागीजस्तो प्राकृतिक विपत्तिमा परेका परिवारलाई दिइएको राहत सामग्री क्षतिको तुलनामा न्यून हो,’ उनले भने, ‘विपत्तिको समयमा स्थानीय सरकार पनि अप्ठ्यारोमा परेका  नागरिकसँगै छ भन्ने अनुभूति दिलाउन थोरै राहत सामग्री सहयोग उपलब्ध गराइएको हो ।’ गत ३० वैशाखमा घरमा कोही पनि नरहेको बेला अपराह्न करिब ४ बजेतिर थापा परिवार बस्दै आएको एउटा घर, गोठसहित घरमा राखिएको अन्नपात, भाँडावर्तन, फर्निचर र नगद ३५ हजारसमेत जलेर नष्ट भएको पीडित थापाले बताइन् । ‘म राँगा चराउन गएकी थिएँ,’ उनले भनिन्, ‘श्रीमान् र छोराहरू पनि कामविशेषले अन्यत्र गएका वेला आगलागी भएछ ।’ घरमा कोही पनि नरहेको र त्यही वेला हावाहुरी आउँदा भएको आगलागीमा केही पनि बचाउन नसकिएको लहान– १५ का वडाध्यक्ष तेजनारायण चौधरीले बताए । 

पीडितलाई आपतकालीन घर 
उनका अनुसार वडा क्षेत्रमा विपतमा परेकाहरूलाई तत्कालका लागि ओत लाग्नका लागि सामाजिक संस्थाबाट प्राप्त भएको सुरक्षित टेन्ट दिइनेछ । घरगोठसमेत जलेपछि पीडित परिवार करिब एक सातादेखि छिमेकी फगुवा सदायको घरमा आश्रय लिएर बसिरहेकाले उक्त टेन्ट उपलब्ध गराउन लागिएको उनले बताए ।  त्यसबाहेक नयाँ घर निर्माण नहुन्जेलसम्मका लागि दुई बन्डल जस्तापाता नगरपालिकाले उपलब्ध गराउने र वडा कार्यालयको समन्वयमा बाँसको व्यवस्थापन गरिएपछि मंगलबारदेखि नै आपतकालीन घर निर्माण गरी पीडितहरूलाई हस्तान्तरण गरिने योजना रहेको नगर प्रमुख चौधरीले उल्लेख गरे । 
 

सुझावित समाचार