कपिलवस्तु प्रहरीले भारतीय नम्बर प्लेटको कारमा विशेष 'फल्स बटन' बनाएर लुकाइछिपाइ नेपाल भित्र्याइएको ठुलो परिमाणको अवैध मदिरा बरामद गरी नष्ट गरेको छ।
पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत शिवराज नगरपालिका–१ स्थित रेन्जर पोस्टनजिक ट्राफिक प्रहरीले नियमित चेकजाँचका क्रममा मदिरा तस्करीमा प्रयोग भएको भारतीय नम्बर प्लेटको गाडी नियन्त्रणमा लिएको प्रहरी निरीक्षक तथा सूचना अधिकारी देवेन्द्रराज जोशीले जानकारी दिए।
पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको डीएल ४ सिएनई ९४१२ नम्बरको टोयोटा कारमा सिटमुनि विशेष फल्स बटन बनाई भारतबाट ल्याइएको रोयल स्ट्याग, सिग्नेचरलगायत विभिन्न ब्रान्डका २ सय ३३ बोतल मदिरा बरामद गरिएको प्रहरीले जनाएको छ। उक्त गाडी नेपालगन्जस्थित रुपैडिया नाकाबाट नेपाल प्रवेश गरेको बताइएको छ।
कपिलवस्तुका निमित्त प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) रिपेन्द्रकुमार सिंहका अनुसार बरामद मदिराको मूल्य करिब ३ लाख २ हजार ८ सय रुपैयाँबराबर रहेको छ।
फल्स बटन बनाएर योजनाबद्ध रूपमा मदिरा लुकाई ल्याइएको अवस्थामा फेला परेको हो, डिएसपी सिंहले भने, 'बरामद गरिएका सबै मदिरा कानुनी प्रक्रिया पूरा गरी नष्ट गरिएको छ भने करिब ७ लाख रुपैयाँ मूल्यबराबरको कार आवश्यक कारबाहीका लागि सुठौली भन्सार कार्यालय पठाइएको छ।'
उनका अनुसार गाडीसँग सम्बन्धित कुनै पनि भन्सार प्रज्ञापनपत्र तथा आवश्यक कागजात फेला नपरेपछि थप अनुसन्धान अघि बढाइएको छ।
जिल्ला ट्राफिक कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक राजन ढकालले नियमित चेकिङका क्रममा शंकास्पद अवस्था देखिएपछि गाडी नियन्त्रणमा लिइएको बताए।
प्रारम्भिक जाँचका क्रममा चालकसँग गाडीका आवश्यक कागजात थिएनन्, प्रहरी निरीक्षक ढकालले भने, पछि चालक कागजात ल्याउन जान्छु भनेर गएको थियो, तर फर्किएन। त्यसपछि विस्तृत रूपमा जाँच गर्दा सिटमुनि बनाइएको फल्स बटनभित्र ठुलो मात्रामा अवैध मदिरा फेला परेको हो।