काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनीता डंगोलसँग नेपालका लागि सिंगापुरकी उप–उच्चायुक्त (डेपुटी एम्बास्डर) सुमाया वाकाभीले शिष्टाचार भेट गरेकी छिन्।
कार्यवाहक प्रमुखको बैठक कक्षमा बिहीबार भएको भेटका क्रममा डंगोलले, सहरी स्वच्छता, सरसफाइ र नागरिकका दैनिक जीवनसँग जोडिएका सेवा तथा सहरी व्यवस्थापनका कामलाई दिगो र संस्थागत बनाउँदै लगिएको बताइन्। आपसी हित, विकासका आयाम र नवप्रवर्तनका विषयमा कुरा गर्दै डंगोलले सार्वजनिक यातायातका साधनलाई यात्रुको पहिलो छनोट बनाउने कार्यक्रम सञ्चालन गरिरहेको बताइन्।
सो क्रममा डेपुटी एम्बास्डर वाकाभीले, सहरी विकास र व्यवस्थापनसँगै स्थानीय शासन, स्थानीय निर्वाचन प्रणाली, स्थानीय निर्वाचनमा महिला निर्वाचित हुने व्यवस्था, प्रमुख र उपप्रमुखका कानुनी दायित्वलगायत विषय जिज्ञासा राखेकी थिइन्। डंगोलले राजनीतिमा आउनुअघि आफू सामाजिक क्षेत्रमा सक्रिय रहेको बताउँदै सामाजिक क्षेत्रबाट एउटा मात्र क्षेत्रको सुधार गर्न सकिने भए पनि राजनीतिमा गरिने एउटा नीतिगत निर्णयले धेरै व्यक्तिलाई एकैपटक लाभ दिने बताइन्।
भेटका अवसरमा दूतावासका पोलिटिकल फस्ट सेक्रेटरीद्वय अब्राहम टाम र जोस्हुआन लिम, सोसल सेक्रेटरी सोनिया, महानगरपालिकाको अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालयका प्रमुख गंगाधर गौतम, कार्यवाहक प्रमुखको सचिवालयका अधिकृत सौरभ गौतमसहित अधिकारीहरू सहभागी थिए।