एकदिवसीय अलराउन्डरमा दीपेन्द्र २८औँ स्थानमा

बिहिबार, ३१ बैशाख, २०८३
डिजिटल संस्करण
  • वरीयतामा दीपेन्द्रसिंह ऐरीको सुधार, श्रीलंकाका दुनिथ वालालागे, भारतका हार्दिक पान्ड्या, इंग्ल्यान्डका जोफ्रा आर्चर र पाकिस्तानका नसिम साह पछि परे

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीका उपकप्तान दीपेन्द्रसिंह ऐरी आइसिसी एकदिवसीय अलराउन्डर वरीयतामा तीन स्थान उक्लिएका छन् । आइसिसीले एक साताको अन्तरमा दोस्रोपटक मेको सबै फर्म्याटको वरीयता सार्वजनिक गरेको हो । नयाँ वरीयताअनुसार दीपेन्द्र एकदिवसीय अलराउन्डरको २८औँ स्थानमा पुगेका छन् । गत साता उनी ३१औँ स्थानमा थिए ।

उनले १५२ रेटिङ अंक बटुलेका छन् । उनीभन्दा एक स्थानमाथि श्रीलंकाका महिन थिक्षणा छन् । दीपेन्द्रभन्दा पछाडि श्रीलंकाका दुनिथ वालालागे रहेका छन् । भारतका हार्दिक पान्ड्या दीपेन्द्रभन्दा तीन स्थान पछि छन् । यसैगरी न्युजिल्यान्डका ग्लेन फिलिप्स, इंग्ल्यान्डका जोफ्रा आर्चर, पाकिस्तानका नसिम साह र अस्ट्रेलियाका सिन बोट उनीभन्दा पछि रहे । एकदिवसीय अलराउन्डर वरीयतामा नेपालका लेग स्पिनर सन्दीप लामिछाने ७२औँ स्थानमै यथावत् रहे । उनीभन्दा एक स्थान माथि अस्ट्रेलियाका फास्ट बलर मिचेल स्टार्क छन् । नेपालका करण केसीको वरीयता भने तीन स्थान खस्केको छ । करण नयाँ वरीयताअनुसार ८४औँ स्थानमा छन् । नेपालकै ललितनारायण राजवंशीले एक स्थान सुधार गरेका छन् । ललित ८५औँ स्थानमा रहे । ललितले ९९ रेटिङ अंक पाएका छन् । एकदिवसीय अलराउन्डर वरीयतामा नेपालका गुल्सन झाले सय स्थानमा इन्ट्री पाएका छन् । उनी ठ्याक्कै सय स्थानमा रहे । उनले ८८ रेटिङ अंक पाए ।

आसिफले सुधारे १३ स्थान
एकदिवसीय ब्याटिङ वरीयतामा नेपालका आसिफ शेखले १३ स्थान सुधार गरेका छन् । उनी ९३औँ स्थानमा उक्लिएका छन् । शेखले ३९३ रेटिङ अंक बटुलेका छन् । एकदिवसीय ब्याटिङमा दीपेन्द्रसिंहले दुई स्थान सुधार गरी ९९औँ स्थान रक्षा गरे । उनले ३९१ रेटिङ अंक पाएका छन् । यसैगरी टी–२० ब्याटिङ वरीयतामा दीपेन्द्रसिंह ६०औँ स्थानमै रहे । ओपनर कुशल भुर्तेल ६६औँ र रोहित पौडेल ८९औँ स्थानमा रहेको आइसिसीले जनाएको छ । टी–२० अलराउन्डर वरीयतामा दीपेन्द्र चौथो स्थानमा छन् । उनले डेढ साताअघि भएको आइसिसी विश्वकप लिग २ मा एक शतक तथा दुई अर्धशतकीय इनिङ्स खेलेका छन् । उनले सिरिजमा चार विकेट हात पारेका थिए । टी–२० आई अलराउन्डर वरीयतामा करण केसी ८४औँ स्थानमा झरेका छन् ।

नेपालका लेग स्पिनर सन्दीपले एकदिवसीय बलिङ वरीयतामा एक स्थान सुधार गरेका छन् । उनी ४२औँ स्थानमा छन् । उनले ४९३ रेटिङ अंक पाएका छन् । यो फर्म्याटमा ललितनारायण राजवंशीले चार स्थान गुमाए । उनी ६९औँ स्थानमा रहे । यसैगरी, दीपेन्द्रले एक स्थान सुधार गरे । उनी ८२औँ स्थानमा छन् । करणले दुई स्थान सुधार गरी ८९औँ स्थान रक्षा गरे ।

सुझावित समाचार