सिन्धु विकास बैंकले थाङपाल भ्याली माविमा वित्तीय साक्षरता तथा शैक्षिक सामग्री वितरण कार्यक्रम गरेको छ । बैंकको मेलम्ची शाखाले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत थाङपाल भ्याली माविमा वित्तीय साक्षरता, शैक्षिक एवं खेलकुद सामग्री वितरण कार्यक्रम गरेको हो ।
कार्यक्रममा विद्यालयका एक सयभन्दा बढी विद्यार्थीको सहभागिता थियो । विद्यार्थीलाई बचतको महत्व, डिजिटल बैंकिङ, वित्तीय अनुशासन तथा बैंकिङ सेवासम्बन्धी जानकारी प्रदान गरिएको थियो । साथै, विद्यालयलाई आवश्यक शैक्षिक सामग्री तथा खेलकुद सामग्रीसमेत हस्तान्तरण गरिएको बैंकले जनाएको छ ।
कार्यक्रममा बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत गणेशकुमार केसी, सहायक प्रमुख कार्यकारी अधिकृत प्रमोद न्यौपाने, मार्केटिङ विभागका भुवन निरौला तथा मेलम्ची शाखा प्रमुख सीताराम दुलालको उपस्थिति थियो ।
विद्यालयका प्रधानाध्यापक राजु तामाङले विद्यार्थीको भविष्य निर्माणमा सहयोग पुग्ने यस्ता अर्थपूर्ण कार्यक्रम सञ्चालन गरेकामा बैंकलाई धन्यवाद दिए । सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालन गरिएको यस कार्यक्रमले विद्यार्थीमा वित्तीय चेतना अभिवृद्धि गर्नुका साथै शैक्षिक वातावरणलाई थप सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।