बुधबार १० बजेसम्मका १० मुख्य खबर

बुधबार, ३० बैशाख, २०८३
डिजिटल संस्करण

प्रधानमन्त्री कार्यालय थप शक्तिशाली बनाइयो, चार मन्त्रालय घटाइयो 
सरकारले प्रधानमन्त्री कार्यालयलाई थप शक्तिशाली बनाउँदै चार मन्त्रालय कटौती गरेको छ। ती मन्त्रालयको जिम्मेवारी अन्य मन्त्रालयमा गाभेर मन्त्रालयको संख्या घटाइएको हो।

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल सरकार कार्यविभाजन नियमावली, २०८३ स्वीकृत गर्दे प्रधानमन्त्री कार्यालयसहित मन्त्रालयको संख्या २२ बाट १८ बनाएको हो । प्रशासनिक सुधार र मितव्ययिता कायम गर्ने, अनावश्यक चालू खर्च कटौती गर्ने तथा कार्यसम्पादनलाई थप प्रभावकारी र छरितो बनाउन मन्त्रालय संख्या घटाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

तीन करोड राजस्व हिनामिनामा बहालवाला तीन उपसचिवसहित पाँचविरुद्ध भ्रष्टाचार मुद्दा दायर
झन्डै तीन करोड रुपैयाँ राजस्व हिनामिनाको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीनजना बहालवाला उपसचिवसहित पाँचजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। सुर्खेत उपत्यका नगर विकास समिति वीरेन्द्रनगरको आम्दानी राजस्व हिनामिना गरेको आरोपमा अख्तियारले मुद्दा दायर गरेको हो।

अख्तियारले नगर विकास समितिका सदस्य सचिवहरू टीकाराम ढकाल, नरहरि तिवारी र गेहेन्द्रबहादुर डाँगीविरुद्ध मुद्दा दायर गरेको छ। त्यस्तै, लेखा अधिकृत हरिबहादुर क्षत्री ९दिवंगत० र सहलेखापाल खड्कबहादुर रानालाई अख्तियारले प्रतिवादी बनाएको छ।

सामाजिक सुरक्षा भत्ता हिनामिना गर्ने वडासचिवलाई चार वर्ष कैद र ४६ लाख जरिवाना 
मृत्यु भएका व्यक्तिको नाममा सामाजिक सुरक्षा भत्ता निकालेर हिनामिना गर्ने वडासचिवलाई चार वर्ष कैद र ४६ लाख रुपैयाँ जरिवानाको सजाय भएको छ। कैलालीको जानकी गाउँपालिका वडा नम्बर ९ का तत्कालीन सचिव प्रेमबहादुर बुढालाई विशेष अदालतले दोषी ठहर गर्दै सजाय सुनाएको हो।

निजामती ऐनको व्यवस्था सम्झाउँदै कर्मचारीलाई सरकारको चेतावनी – राजनीतिक क्रियाकलापमा संलग्न भए कारबाही हुन्छ 
विद्यमान निजामती सेवा ऐनको व्यवस्था सम्झाउँदै सरकारले राजनीतिक गतिविधिमा संलग्न नहुन कर्मचारीहरूलाई निर्देशन दिएको छ। अन्यथा कारबाही गर्ने चेतावनीसमेत दिएको छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधबार एक सूचना जारी गर्दै राजनीतिक गतिविधिमा संलग्न भए कारबाही गर्ने चेतावनी दिएको हो। खासगरी निजामती सेवामा ट्रेड युनियनको विषय पेचिलो बनिरहेका वेला सरकारले यस्तो निर्देशन जारी गरेको छ।

विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायु, दुई सञ्चालक नियुक्त 
नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिले प्राधिकरणका निमित्त कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठलाई कायममुकायम कार्यकारी निर्देशकको जिम्मेवारी दिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको अध्यक्षतामा बुधबार बसेको प्राधिकरण सञ्चालक समितिको १०३०औँ बैठकले उक्त निर्णय गरेको हो।

सर्वोच्च प्रशासनले निवेदन दर्तामा आलटाल गरेको भन्दै नेपाल बारको आपत्ति
सर्वोच्च अदालत प्रशासनले रिट निवेदन दर्तामा आलटाल गरेको भन्दै नेपाल बार एसोसिएसनले आपत्ति जनाएको छ।

प्रशासनको दरपीठविरुद्ध इजलाससमक्ष सम्बन्धित शाखामा पेस गरेको निवेदनमा समेत प्रशासनले दर्ता वा दरपीठ दुवै नगरी मौनता साधेको गुनासो आएको भन्दै बारले प्रशासनको ध्यानाकर्षण गराएको हो।

आयल निगमका कार्यकारी निर्देशक भट्टले दिए राजीनामा
नेपाल आयल निगम लिमिटेडका कार्यकारी निर्देशक डा। चण्डिकाप्रसाद भट्टले राजीनामा दिएका छन्। भट्टको राजीनामा सनाखत हुने क्रममा रहेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नेत्र सुवेदीले जानकारी दिए। 

भट्टलाई एक हप्ताअघि उद्योगमन्त्री गौरीकुमारी यादवले राजीनामा दिएर सरकारलाई सहयोग गर्न निर्देशन दिएकी थिइन्। राजीनामा नदिए बर्खास्त गरेर हटाउने प्रक्रिया सुरु भएकोबारे पनि मन्त्री यादवले कार्यकारी निर्देशक भट्टलाई जानकारी गराएकी थिइन्।

बादलको असंसदीय शब्द रेकर्डबाट हटाउन रुलिङ
एमाले संसदीय दलका नेता रामबहादुर थापा बादलले बोलेका असंसदीय शब्दहरू सभाको अभिलेखबाट हटाउन सभामुख डोलप्रसाद अर्यालले रुलिङ गरेका छन्। 

वैशाख २९ गतेको बैठकमा थापाले बोलेका ‘अराजकहरूको भिड’, ‘राष्ट्रिय झन्डा ओढेर देश जलाउनेहरू’ र ‘नेपाली सेना मुकदर्शक’ भन्ने शब्द रेकर्डबाट हटाउन रुलिङ भएको हो।

मन्त्रिपरिषद् बैठक स् प्रशासन, सुशासन, सरकारी लगानी तथा भूमि व्यवस्थापनसँग सम्बन्धित चार निर्णय
नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले प्रशासन, सुशासन, सरकारी लगानी तथा भूमि व्यवस्थापनसँग सम्बन्धित चार महत्त्वपूर्ण निर्णय गरेको छ। बुधबार बसेको बैठकले विभिन्न नियमावली तथा आदेश संशोधन र स्वीकृतिसम्बन्धी निर्णयहरू पारित गरेको हो।

किर्ते भौचरको खेल स् ३८ लाख हिनामिना प्रकरणमा बैंक कर्मचारीसहित पाँचजना पक्राउ
किर्ते भौचर बनाएर सरकारी अस्पतालको लाखौँ रुपैयाँ हिनामिना गरिएको घटनामा बैंक कर्मचारी नै मुख्य योजनाकारका रूपमा संलग्न रहेको खुलेपछि कपिलवस्तुमा हलचल मच्चिएको छ। कपिलवस्तुको चन्द्रौटा आधारभूत अस्पतालको खातामा जम्मा हुनुपर्ने ३८ लाखभन्दा बढी रकम नक्कली भौचरमार्फत गायब बनाइएको प्रकरणमा प्रहरीले दुई बैंक कर्मचारीसहित पाँचजनालाई पक्राउ गर्दै संगठित आर्थिक अपराधको पर्दाफास गरेको छ।

सुझावित समाचार