जनकपुर साहित्य महोत्सवको सातौँ संस्करण १ जेठदेखि

बुधबार, ३० बैशाख, २०८३
डिजिटल संस्करण

मिथिला कला, संस्कृति र साहित्य विषयमा केन्द्रित भई जनकपुरधाममा हुँदै आएको जनकपुर साहित्य महोत्सवको सातौँ संस्करण १ जेठदेखि सुरु हुने भएको छ। यस वर्षको महोत्सव ‘जनकपुरकेन्द्रित विमर्श’का साथ प्रस्तुत हुने आयोजक संस्थाले जनाएको छ।

खुला चौरमा हुँदै आएको महोत्सव यस वर्ष जनकपुरस्थित महेन्द्रनारायण निधि भवनपरिसरमा सञ्चालन हुनेछ। यस वर्षको महोत्सवमा साहित्यिक बहसभन्दा पनि जनकपुरधामको ऐतिहासिक, धार्मिक र सांस्कृतिक पहिचानलाई मुख्य केन्द्रमा राखेको आयोजकले जनाएको छ।

नव मिथिला फाउन्डेसनको आयोजना तथा फ्याट्स नेपालको प्रायोजनमा हुने महोत्सवको उद्घाटन मधेश प्रदेशका प्रमुख डा. सुरेन्द्रलाभ कर्णले गर्ने कार्यक्रम तय गरिएको छ।

महोत्सवमा विभिन्न १३ वटा खुला प्यानल छलफल राखिएको छ। ‘जनकपुरको कनेक्टिभिटी र पर्यटनको भविष्य’, ‘जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने सम्भावना’, ‘कसरी फर्काउने जनकपुरको शास्त्रार्थ’जस्ता विषयमार्फत जनकपुरधामको पहिचान, सम्भावना र चुनौतीमाथि गम्भीर बहस हुने  फाउन्डेसनका उपाध्यक्ष आदित्य नेपालले जानकारी दिए।

महोत्सव निर्देशक राजीवधर जोशीका अनुसार कार्यक्रमको संरचना नै जनकपुरधामको ऐतिहासिक र सांस्कृतिक महत्त्वलाई केन्द्रमा राखेर तयार गरिएको हो।

महोत्सवको अर्को आकर्षण प्रभातकालीन सम्पदा पदयात्रा हुनेछ। आयोजकका अनुसार २ जेठमा  हुने पदयात्रामा करिब १२ सयदेखि १५ सयसम्म सहभागी हुने अपेक्षा गरिएको छ। एउटै प्रकारको पोसाकमा सहभागीहरूले जनकपुरधामका धार्मिक तथा ऐतिहासिक स्थलहरूको अवलोकन गर्दै सम्पदा संरक्षणको सन्देश दिनेछन्।

पछिल्ला वर्षहरूमा जनकपुर साहित्य महोत्सवले मैथिली भाषा, मधेशको समाज, महिला लेखन, धार्मिक पर्यटन तथा सांस्कृतिक विमर्शलाई राष्ट्रिय बहसको केन्द्रमा ल्याउने प्रयास गर्दै आएको छ।

सुझावित समाचार