गत पुसमा महोत्तरी २७ वर्षीया महिलाले आफू बलात्कृत भएको आरोप लगाउँदै प्रहरीमा जाहेरी दिइन् । घटनापछि आरोपी फरार छन् ।
गत १० चैतमा १६ वर्षीया बालिकालाई १९ वर्षीय युवकले बलात्कार गरेको भनी जिल्ला प्रहरी कार्यालय महोत्तरीमा जाहेरी पर्यो । प्रहरीले आरोपितलाई पक्राउ गरी अनुसन्धान थालेको छ ।
गत १३ वैशाखमा गौशाला नगरपालिकामा पाँच महिनाकी गर्भवती महिला बलात्कृत भइन् । घरमा सुतिरहेको अवस्थामा मध्यरात केही व्यक्ति पीडित सुतिरहेकै घरमा प्रवेश गरेर जबर्जस्ती करणी गरेका थिए । प्रहरीले सोही घटनामा मुद्दा दर्ता गरी आरोपीलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको छ ।
माथि उल्लिखित यी प्रतिनिधि घटना मात्र हुन् । महोत्तरीमा नाबालिकादेखि महिलामाथि यौन हिंसा तथा बलात्कारमा परेका छन् । प्रहरीका अनुसार चालू आर्थिक वर्षको नौ महिनामा महोत्तरीमा यौनहिंसा र बलात्कारसम्बन्धी साढे तीन दर्जन मुद्दा दर्ता भएका छन् । चालू आर्थिक वर्षको चैत मसान्तसम्म जबर्जस्ती करणीका २८ मुद्दा दर्ता भएका छन् । तथ्यांकले जिल्लामा महिला सुरक्षा चुनौतीपूर्ण बन्दै गएको देखाएको छ ।
अपहरण गरी जबर्जस्ती करणी गरेको विषयमा ६ वटा मुद्दा दर्ता भएको छ । प्रहरीले जबर्जस्ती करणी मुद्दामा ११ जनालाई पक्राउ गरी मुद्दा चलाएको छ । सोही घटनामा १४ जना फरार छन । अपहरण तथा जबर्जस्ती करणी मुद्दामा प्रहरीले पाँचजनालाई नियन्त्रणमा लिएको छ । दुईजना फरार छन् ।
महिला अधिकारकर्मी गुञ्जा राय कानुनका विभिन्न लुपहोल, शक्ति तथा पहुँचकै कारण आरोपीहरू उम्किन सक्ने सम्भावनासमेत रहेकाले बलात्कारजस्ता जघन्य प्रकृतिका घटनामा कडा कानुन ल्याउन आवश्यक रहेको बताउँछिन् । महिलासँग यौनजन्य हिंसालगायत घटनामा संलग्न व्यक्तिलाई राजनीतिक र सामाजिक रूपमा बहिष्कृत गर्न सकिए यस्ता प्रवृत्ति न्यूनीकरण हुने उनको भनाइ छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी हेरम्ब शर्माले बलात्कारजस्तो अपराधलाई प्रहरीले गम्भीरतापूर्वक लिई अनुसन्धान गरेर आरोपीलाई अदालतसम्म लैजाने गरेको बताए । ‘उमेर पुगेकै व्यक्तिको हकमा समेत उसको मर्जीबेगर कसैले जबर्जस्ती करणी गरे वा प्रयास गरे त्यस्तालाई कानुनअनुसार कारबाही हुन्छ,’ उनले भने ।
प्रहरीको अनुसन्धानपछि सरकारी वकिल कार्यालयले अदालतमा मुद्दा दर्ता गर्न प्रमाण दाबी नपुग्ने समस्यासमेत देखिएको छ । जिल्ला अदालत महोत्तरीमा आर्थिक वर्ष ०८१/८२ मा दर्ता भएको जबर्जस्ती करणीको ३४ मुद्दामा आठवटा मुद्दामा दाबी नपुगेको अदालतबाट फैसला आएको छ । अझै १७ मुद्दा चालू अवस्थामै छन् । अदालतले तीन मुद्दा मुल्तबीमा राखेको छ ।
सरकारी वकिल कार्यालय महोत्तरीका सहन्यायाधिवक्ता दीपेन्द्र दास भने अधिकांश मुद्दामा दाबी नपुग्नुमा प्रतिकूल बकपत्रलगायत कारण रहेको बताउँछन् । पहिले बलात्कार भएको भनेर आएको प्रेम सम्बन्धका घटनामा समेत प्रतिकूल बकपत्र कारण देखिने गरिएको उनको भनाइ छ ।