सल्यानको कपुरकोट गाउँपालिकाले आइतबार पनि पालिकाभित्रका विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ । सोमबार बसेको गाउँ कार्यपालिकाको ११औँ बैठकले शनिबार र आइतबार दुई दिन बिदा हुँदै आएकोमा शनिबार मात्र बिदा दिने र आइतबार नियमित पठनपाठन सञ्चालन गर्ने निर्णय गरेको कपुरकोट गाउँपालिका अध्यक्ष दुर्गा पुनले जानकारी दिए।
पाठ्यक्रम र पाठ्यभार पहिले र अहिलेकोमा फरक नभएको, माध्यमिक तहसम्मको शिक्षाको अधिकार स्थानीय तहकै भएकाले कार्यपालिकाको बैठकले आइतबार पनि हुँदै आइरहेको बिदा कटौती गरी नियमित पठनपाठन गर्ने निर्णय गरेको उनले बताए । उनले भने, ‘नयाँ सरकार आएपछि बिदाको सुविधा पाउनुपर्छ भन्ने होइन होला ? ऊर्जा संकट ग्रामीण क्षेत्रका विद्यालयको लागि असर पर्ने विषय पनि होइन । जहाँ सामुदायिक विद्यालयमा एउटै बस छैन । गाउँपालिकाले मातहतका सबै सामुदायिक र संस्थागत विद्यालयलाई सोही निर्णयअनुसार विद्यालय सञ्चालन गर्न निर्देशन दिएको छ ।’
नेपाल सरकारले ०८२ चैत २३ गते सोमबारदेखि लागू हुने गरी सरकारी कार्यालय, सार्वजनिक निकाय तथा शैक्षिक संस्थाहरूमा शनिबार र आइतबार बिदा दिने निर्णय गरेको थियो ।