नेपाल क्रिकेट संघ (क्यान)को विराटनगरमा भएको वार्षिक साधारणसभाले हरेक वर्ष क्रिकेट अवार्ड आयोजना गर्ने निर्णय गरेको छ । वर्षभरि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेटमा गरेको प्रदर्शनका आधारमा क्यानले खेलाडीलाई अवार्ड प्रदान गर्ने प्रवक्ता छुम्बी लामाले बताए । उनका अनुसार अवार्ड पाँच विधाका छन् । जसमा सर्वोत्कृष्ट पुरुष र महिला खेलाडी हुनेछन् । यसैगरी पुरुष र महिलातर्फ युवा खेलाडीलाई अवार्ड दिइनेछ । यसैगरी मोमेन्टम अफ द इयर अवार्ड पनि समावेश भएको उनले बताए ।
नेपाली क्रिकेटको विकासमा लामो समयदेखि योगदान पुर्याएका एक व्यक्तित्वलाई क्यानले लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिनेछ । ‘डिसेम्बरमा खेलाडीहरूलाई अवार्ड प्रदान गर्दै छौँ । अब यो प्रत्येक वर्ष हुनेछ,’ उनले भने, ‘यस किसिमको अवार्डले खेलाडीको आत्मबल वृद्धि हुनेछ ।’ कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आइतबार साधारणसभाको उद्घाटन गरेका थिए ।
साधारणसभाले पहिलो र दोस्रो नेपाल प्रिमियर लिगका आय–व्यय विवरण पारित गरेको छ । सर्वसम्मतिले आय–व्यय विवरण पारित भएको लामाले जानकारी दिए । क्यानको वार्षिक साधारणसभाले ०८१/८२ को वार्षिक लेखा परीक्षण प्रतिवेदन अनुमोदन गर्ने निर्णय पनि गरेको छ । यसैगरी केन्द्रीय कार्यसमितिबाट पेस भएको २०२६ को वार्षिक कार्यक्रम, कार्ययोजना र बजेट अनुमोदन भएको छ । साधारणसभामा क्यानका सचिव पारस खड्काले क्यान र एनपिएलको हिसाब–किताबलाई लिएर नियोजित मिडियाबाजी गरिएको बताएका छन् ।
अख्तियारमा बेनामी उजुरी गर्ने र भ्रम फैलाउने प्रवृत्ति हाबी भएको टिप्पणी उनले गरेका थिए । ‘हिसाब–किताब चाहने सदस्यहरूलाई कार्यालयमै आएर कागजात हेर्न आह्वान गरिएको छ । तर, संस्थाका गोप्य डकुमेन्टहरू इमेलमार्फत जथाभावी पठाउने प्रावधान छैन,’ उनले भने । क्यानले सबै आवश्यक कागजात सम्बन्धित निकायमा बुझाइसकेको खड्काले जानकारी दिए । ‘यसमा आत्तिनुपर्ने कुनै कारण छैन । क्यानभित्र कुनै राजनीतिक हस्तक्षेप छैन । संस्था एक ढिक्का भएर अगाडि बढिरहेको छ,’ उनले भने, ‘एनपिएलले नेपाली क्रिकेटमा ल्याएको व्यावसायिकतालाई सबैले कदर गर्नुपर्छ ।’
एकदिवसीय मान्यता जोगाउन केन्द्रित
क्यान पछिल्लो समयमा नेपालको एकदिवसीय मान्यता रक्षा गर्नेतर्फ केन्द्रित भइरहेको खड्काले बताए । ‘अहिले दुईवटा योजनामा अग्रसर र केन्द्रित भएका छौँ । पहिलो नेपालको एकदिवसीय मान्यता जोगाउँदै आइसिसीको पूर्ण सदस्य (टेस्ट राष्ट्र) बन्नेतर्फ केन्द्रित रहेको छ,’ उनले भने । खड्काले तल्लो मूलपानी मैदानलाई क्यानको स्वामित्वमा ल्याउन पहल भइरहेको बताए । ‘मूलपानीको तल्लो मैदानलाई क्यानकै स्वामित्वमा ल्याउने प्रयास गरिरहेका छौँ । यसका लागि सम्बन्धित
निकायसँग छलफल भइरहेको छ,’ खड्काले भने, ‘हामीलाई आशा छ– मूलपानीको मैदान क्यानकै स्वामित्वमा आउनेछ ।’ विराटनगरको बैजनाथपुर मैदान विकासका लागि प्रदेश सरकारसँग समन्वय भइरहेको उनले बताए ।
क्यानको सदस्यता नवीकरणमा समस्या
क्यानले पछिल्लोपटक ०८१ असोजमा साधारणसभा आयोजना गरेको थियो । त्यसपछि साधारणसभामा ढिलाइ भएको र आर्थिक कारोबार पारदर्शी नभएको भन्दै क्यानका पदाधिकारीमाथि प्रश्न उठ्दै आइरहेको छ । क्यानले ०८२ असारसम्मका लागि मात्र सदस्यता नवीकरण गरेको छ । त्यसयता नवीकरण गरेको छैन । नवीकरणका लागि वार्षिक प्रतिवेदन, भावी योजना, लेखा परीक्षण, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गरेको कागजपत्रलगायत राखेपमा पेस गर्नुपर्ने हुन्छ । तर, साधारणसभा नभएका कारण क्यानले कागजपत्र पेस गर्न सकेको छैन ।
क्यानका असन्तुष्ट पक्षहरूले अख्तियारले समेत मागेका लेखा तथा स्रेस्तासम्बन्धी विवरण र कागजात जिम्मेवार पदाधिकारीले उपलब्ध नगराएको दाबी गरेका छन् । क्यानका अध्यक्ष चतुरबहादुर चन्दले देशको परिस्थितिका कारण साधारणसभामा ढिलाइ भएको बताए । पछिल्लो अवस्थाबारे एसिसी र राखेपलाई साधारणसभाको ढिलाइबारे जानकारी गराएको उनले जनाए । सचिव खड्काले पनि प्राविधिक र व्यावहारिक कारणले संघको वार्षिक साधारणसभामा केही ढिलाइ भएको बताए ।