‘तोरकिन’ : कथैकथाको शब्दमाला

शनिबार, २६ बैशाख, २०८३
डिजिटल संस्करण

भौगोलिक र सामाजिक दृष्टिले नियाल्दा गण्डकी र कर्णाली प्रदेश दुवैमा समानता पनि छन्, असमानता पनि छन् । मुख्यतः दुवै प्रदेशका आआफ्नै असंख्य कथा छन्, उपकथा छन् । कर्णाली जाजरकोटवासी क्षितिज समर्पणले गण्डकीको मुहान क्षेत्र मुस्ताङको कथा उधिन्ने साहस गरेका छन् र नाम दिएका छन्–‘तोरकिन’ । 

लेखक समर्पणको पहिलो उपन्यास ‘तोरकिन’ उपल्लो मुस्ताङका कथाका छुट्टाछुट्टै थुंगाको महक र सुन्दरता नबिगारी उनेको कथैकथाको शब्दमाला हो । ‘तोरकिन’मा लेखकले यति जादुयी शिल्प उनेका छन् कि पुस्तक पढिरहँदा पटकपटक लागिरह्यो कुनै गाउँको कथा त्यही गाउँमा नाभी गाडिएको एउटा रैथाने लेखकबाहेक अरू कसैले यति सुन्दर तरिकाले कसरी लेख्न सक्छ ? यही प्रश्नको रोमाञ्चकताले पछ्याइरह्यो ।

‘तोरकिन’ मित्रताको कथा हो । प्रेमले दिने आनन्द र पीडाको कथा हो । उजाडिँदै गइरहेका हाम्रा पहाड र पर्वतको कथा हो । बदलिँदो जलवायुको कथा हो । हामीले मानेको विकास र चेतनाको विस्तारसँगै मानिसमा आएको जीवनदृष्टिको कथा हो र त्यही जीवनदृष्टिको प्रभावले मानिसमा पलाएका असीमित चाहनाका पखेटाको कथा हो । ‘तोरकिन’ ठ्याक्कै उप्पल्लो मुस्ताङको एउटा रैथाने पात्रको फेरो समातेर भनिएको देशको कथा हो । समयको कथा हो ।

कुनै पुस्तकबारे जब केही बोल्ने र लेख्ने चेष्टा गर्छु, कसो–कसो त्यो पुस्तकको सारकथा पनि भनिजाँदो रहेछु । यो आलेखमा भने त्यसमा केही होसियारी अपनाएको छु । ‘तोरकिन’ पढ्दाको कुतूहलता र रोमाञ्चकता पाठकलाई नै जिम्मा दिने निधो गरेँ । सुरुमै भनेँ, ‘तोरकिन’लाई चिन्न ‘तोरकिन’ नै पढ्नुहोस् ।

उपल्लो मुस्ताङमा चराङ भन्ने एउटा गाउँ छ । अविरल बगिरहेको कालिगण्डकी खोलाको नजिकै रहेको यो गाउँ सुरुवातमा गाउँजस्तै छ । जहाँ गाउँका हजारौँ कथा, मान्यता, परम्परा, रहनसहन छन् । मुख्यतः सुरुवातमा चराङमा गाउँले छन्, गाउँको पहिचान छ । कथाको सुरुमा त्यही गाउँमा भर्खर जन्मिएको छ– छेवाङ । कथाको अन्त्यमा आइपुग्दा छेवाङ बुढो भइसकेको छ । हुन त कथाको अन्त्यसम्म आइपुग्दा चराङमा अप्ठ्यारा पहाड छिचोलेर मोटरबाटो पुगेको छ, मोटर चढेर पर्यटक पुगेका छन्, मोटर चढेर जुत्ताचप्पल पुगेका छन् । गाउँमा मोटरबाटो पुगेसँगै सबैसबै पुगेको छ । हराएका त सोमबा नाक्तो र सोमबा कोत्तोहरू न हुन् । बिजुली, इन्टरनेटसँगै डिजिटल दुनियाँ पनि चराङ उक्लिसकेको छ । हामीले जेलाई सुख र सुविधा भनिरहेछौँ, ती सबै कुरा चराङ उक्लिसक्दा सायद अब कहिलै नफर्किने गरी चराङवासी आफूहरूचाहिँ तल झरेका छन् । त्यसैले, कथाको अन्त्यमा आइपुग्दा चराङमा चराङबाहेक सबै छ । सुरुवातको एउटा सुन्दर गाउँ कुनै एउटा निर्जन खण्डहर ठाउँजस्तो भइसकेको छ । छेवाङ भने त्यही गाउँमा जीवनभरिका अविच्छिन्न दुःखसुखका सम्झना बोकेर बाँचिरहेको छ । बाँचिरहेका भए अरू एक–दुईजना वृद्ध होलान्, जसले छेवाङजस्तै कसैगरी चाहेनन् वा सकेनन् आफ्नो नाभी गाडिएको गाउँको बास्ना बिर्सेर जानलाई । 

पुस्तकमा लेखकले कथा भन्ने कुनै ठोस योजना बनाएका छैनन्, बरु उनले त पुस्तकका पात्रको जीवनलाई डोर्याउँदै–डोर्याउँदै हिँडिरहेका छन् । यसरी हिँडिरहँदा लेखक र पात्रको पदचाप निकाल्ने सुमधुर संगीतले भनिरहेको छ, भन्नुपर्ने कथा । त्यही पदचापको संगीतमा कहिले छेवाङ र पेम्बाको गहिरो मित्रताको कुरा आउँछ त कहिले छेवाङ र कुन्साङ अनि पेम्बा र कार्चङले मारेका पिरतीका मिठा खासखुस सुनिन्छन् । ‘तोरकिन’का शब्द संगीतमा कहिले दुःखको आँधीले मन भाताभुंग हुँदा निस्किने गहिरो सुस्केरा सुनिन्छ त कहिले मानिसले उज्यालो सपना देखिरहँदा वा प्रार्थना गरिरहँदा उनीहरूको मनमा आउने मधुर र पवित्र लय पनि सुनिन्छ । 

‘तोरकिन’को कथामा जब पात्रले बातचित गर्छन्, तब मलाई यस्तो लागिरह्यो ती संवाद क्षितिज समर्पणले लेखेकै होइनन् । कथालोकबाट पात्र आए र बोलिरहे आफ्नो भागको संवाद र लेखकले केवल रेकर्ड गरिदिएका हुन् ती पात्र संवादलाई । यसरी पात्रहरूको कथा उनीहरूले नै ‘न्यारेसन’ गर्ने र पात्रहरूको संवादमा लेखक नभेटिनु भनेको कम्तीमा मेरा लागि लेखनको ज्यादै चित्ताकर्षक शैली हो । 

उपल्लो मुस्ताङमा बाँचिरहेको समयलाई वा पात्रलाई बाल मतलब कि लेखकले के सोचिरहन्छ ? उसको बुद्धिमता वा जीवनदृष्टि के हो ? उसले मान्ने वाद वा दर्शन के हो ? यसरी पुस्तकमा लेखकले पात्रलाई आफैँबाट टाढा राखेर पात्रसंवादको जुन मौलिकता जोगाएका छन्, त्यो वास्तवमै मन पसन्द छ । पात्रहरूको यो मौलिक संवादले पुस्तक पढिरहँदा मलाई पटक–पटक रमेश विकलको ‘अविरल बग्दछ इन्द्रावती’को सम्झना दिलाइरहेथ्यो । 

पात्र संवादको मौलिकता गजबसँग जोगाएका लेखकले स्थानीयताको रक्षा गर्ने लोभमा कहीँकतै भने गल्ती गरेका छन् । जस्तो– उपन्यासमा आएका पात्र संवादमा लेखकले कहीँकतै ज्यादै विशेष परिस्थिति, स्थान र उद्देश्यका लागि मात्र स्थानीय ‘ल्होवामा’ भाषाको प्रयोग गरेका छन् । त्यसबाहेक, उपन्यासमा हरेक उमेर समूहका पात्रले प्रयोग गर्ने भाषा स्थानीय लवजको नेपाली नै छ । यसरी हेर्दा कम्तीमा पनि के अनुमान गर्न सकिन्छ भने नेपाली भाषासँग चराङ कत्ति अनभिज्ञ छैन । पुस्तकलाई मात्र आधार बनाउँदा यो भन्न सकिन्छ, आमाको काखमा हुर्किरहेको बच्चाले आमाबाट र परिवारबाट सिकिरहेको मातृभाषा नेपाली नै हो । तर, त्यही बच्चा जब विद्यालयमा पुग्छ, उसले सुनिरहेको, बोलिरहेको नेपाली एकाएक बिर्सिन्छ र उसलाई फेरि शिक्षकले सिकाउनुपर्छ, सो भनेको गहुँ, च्याङ भनेको छेयाङ, मेः भनेको आगो र क्षु भनेको पानी । चराङवासीको नियमित संवाद ‘ल्होवामा’ भाषाबाट हुन्छ, तर पुस्तकभरि भने त्यो कहीँकतै पाइँदैन । यसरी स्थानीय भाषाको पहिचानमाथि न्याय गर्न खोज्दाखोज्दै लेखक चिप्लिएका पो हुन् कि ?

पुस्तकमा ज्यादै कम ठाउँमा मात्र लेखकलाई उच्च भावुकताले छपक्क छोप्छ पनि । जस्तो कि छेवाङले आफैँ मरेको सपना देख्दा उसको आत्माले उसको प्राणप्यारी श्रीमती र छोराको सम्भावित हरिबिजोगबारे सोच्दैन । बरु आफ्नो मृत्युको समाचार चराङ पुग्न कति समय लाग्ला भनेर सोचिरहन्छ वा आफ्नो लास गिद्धले नखाएर माछा वा डल्फिनले खाला । यी ठाउँमा भावुकताले जितेजस्तो लाग्छ । 

अर्को एउटा प्रसंग छ, नामग्यालको मृत्युको प्रसंग । मर्नुअघि नामग्याल ज्यादै गलिसकेको छ । हातको छाला लोती परेको छ । आँखा गडेका छन् । ऊ ख्याउटे बनिसकेको छ । तर, त्यही ख्याउटे शरीरको लास बोक्दा एउटा लक्का जवानले भन्छ, ‘बुढा त सारै गह्रुंगो रहेछ ।’ सरसर्ती पढ्दा नै महसुस गर्न सकिने यस्तै ससाना गल्ती ज्यादै कम मात्र भेटिन्छन् ।

लेखकले एक त उपन्यासभरि नै मान्छेका दुःखसुखका प्रवाहलाई प्राकृतिक बिम्बसँग ज्यादै लोभलाग्दो तरिकाले जोडेका छन् । अर्को त बिचबिचमा एउटा सामाजिक पात्रले खुलेर गर्न नसक्ने तर लुकाएर वा साथीभाइसँग मात्र गर्न सकिने घटनाको बेलिविस्तार गरेका छन् । यो आकर्षक शैलीले फरक भूगोल, फरक भाषा र फरक समयको पाठकले पनि आफूलाई कथाकै पात्रभित्र भेटाइरहन्छन् ।

‘तोरकिन’मार्फत लेखकले उपल्लो मुस्ताङको पछिल्लो दुई पुस्ताको समय र संस्कृतिलाई यसरी खिपेका छन् कि पुस्तकलाई त्यो समयको मिनी दस्ताबेज मान्दा गलत नहोला ! लेखकले हरेक कथाको न्यारेसनमा उपल्लो मुस्ताङ संस्कृति, रहनसहन, रीतिरिवाज, परम्परा, पहिचानको र दैनिकीको इन्द्रेणी रंग थपेका छन् । घरमा मूलढोकाको बाहिर बाँयापट्टि राखिएको ठुलो ढुंगाको अर्थ वा त्यहाँका दरबार र गुम्बाको रहस्य, गाउँमा बाँचिरहने कथाहरूको इतिहास वा चराङवासीसँग नङ र मासुझैँ जोडिएका; नुन–तेल, च्यांग्रा र उत्तरी सिमाना तिब्बतसँगको सम्बन्ध, दैनिकीका यस्तै हजारौँ कथा र प्रसंग जोडेर चराङको पहिचानलाई पुस्तकभरि कलात्मक शैलीले खिपेका छन् । लेखककै अनुसार लोप हुनै लागेका चराङको यो खास पहिचानको यति गम्भीर विषयलाई ज्यादै सरस र सरल शैलीले लेखेका छन् । 

उनको यही शैलीले उपन्यासमा पाठकलाई बरु रनभुल्लमा पार्न सक्छ, पाठक झुक्किन सक्छ, उसले पात्रहरूको कथा पढाइरहेछ वा उपल्लो चराङको पहिचानको मिनी दस्ताबेज । पाठकमा पर्ने यही मिठो द्विविधा नै ‘तोरकिन’को सबैभन्दा सफल पक्ष हो । कथाको मूल प्रवाह कतै नबिगारी पाठकमा मराङ र चराङ जुन रूपरेखा उतार्ने शैली छ, त्यसले उपन्यासका हरेक पेज, घटना र विषयलाई ज्यादै चुम्बकीय बनाएको छ । 

पुस्तक पढेर सकिसक्दा मलाई लागेको थियो–समयको कुनै कालखण्डमा लेखक बाक्लो हिउँ बनेर पुगे चराङमराङमाथि, बिस्तारैबिस्तारै पग्लिए र पुगे चराङमराङको अन्तरात्मासम्म र छामे चराङमराङका हरेक सुखदुःख । लेखक, छेवाङ र पेम्बाले पिउने छ्याङ बने, जसलाई पिए छेवाङ र पेम्बाले । नसानसामा पुगेर अनुभूत गरे छेवाङ र पेम्बाको हृदय । सायद लेखक कालिगण्डकी खोला बनेर वर्षौंदेखि बगिरहे चराङको नजिकैबाट र बर्बरिकले महाभारतको युद्ध नियालेजस्तो नियालिरहे समयले चराङको हृदयमा पारेको पदचाप । सायद लेखक खाता बने, काउ बने, तोचे र ल्याम्डोक बने र बसे चराङवासीको एकदमै नजिकै । मुख्यतः लेखक पुस्तकभरि नै कुन्साङले छेवाङलाई दिएको पछ्यौरीजस्तै बने, बनिरहे । ‘तोरकिन’मा कथा मात्रै छैन । समय र पहिचानको लोभलाग्दो दस्ताबेज पनि छ । कुनै समय र भूगोललाई सरलीकृत गरी पाठकसम्म पुर्याउन क्षितिजले मस्तै मिहिनेत गरेका छन्, सायद एउटा लेखकले गर्न सक्ने भनेको जिम्मेवारी नै यही हो कि ?
 

See More On

सुझावित समाचार