कञ्चनपुरका व्यवसायीहरूले सरकारले एक्कासि भन्सार विन्दुमा अधिकतम खुद्रा मूल्य (एमआरपी)लागू गरेपछि सामान आयात–निर्यातमा समस्या, झन्झट र कठिनाइ भइरहेको बताएका छन्। सरकारले भन्सार विन्दुमै एमआरपी लागू गरेपछि सामान आयात–निर्यातमा समस्या, झन्झन र कठिनाइ भइरहेको बताएका हुन्। व्यवसायीहरूले भन्सार क्षेत्रमा सामान आयात–निर्यात गर्दा अनेकन व्यवस्था लागू गरेपछि त्यसले सरल, सहजभन्दा झन् झन्झटिलो, अव्यावहारिक भएको भन्दै कठिनाइ उत्पन्न गराएको दुखेसो पोखेका छन् ।
महेन्द्रनगरका आयात–निर्यात व्यवसायी हरिकृष्ण शाहले अनेकन नियम लागू गरेर व्यवसायीलाई दु:ख दिने काम गरेको बताए । ‘भारतीय बजारमा उत्पादित कम्पनीले वस्तुको एमआरपी राख्दैन,’ उनले भने, ‘सरकारले भन्छ, उतैबाट हालेर ल्याऊ, अनि भन्सारमा हाल्दा पनि हामीमाथि बिचबाटैमा प्रहरीबाट समस्या समस्या हुन्छ ।’ कुनै पनि मालसामानलाई भन्सारदेखि गोदामसम्म आउँदा सहज हुने गरेर व्यवसायीले एमआरपी राख्ने वातावरण बनाउनुपर्ने बताए । भन्सार विन्दुमै एमआरपी राख्ने प्रावधानले व्यवसायीमाथि अन्याय हुने उनको भनाइ छ ।
आयात–निर्यातकर्ता भरत रानाले एमआरपीका कारण समस्या भएको बताए । उनले बिहान आएको सामान चेकजाँचमा दिनभर लागेपछि ढुवानीमा समस्या भएको बताए। ‘भारतबाटै सबै बिलबिजक ल्याएर सामानको मूल्य राख्नुपर्ने भयो,’ उनले भने, ‘यता भन्सार पुग्दा सबै वस्तुको एमआरपी राख्दा भन्सार क्षेत्रमै अनावश्यक समय खर्च भयो, झन्झट पनि भइरहेको छ ।’ अर्का आयात–निर्यातकर्ता नरेश कार्कीले भन्सार विन्दुबाटै एमआरपी लागू हुँदा समस्या हुने बताए ।
उनले अब भन्सार विभागबाटै व्यवसायी आफैँले गोदाममा राखेर एमआरपी लागू गर्ने व्यवस्था भइरहेको बताए । युवा उद्यमी तेजबहादुर चन्दले भन्सार विन्दुबाटै एमआरपी अहिले व्यावहारिक सम्भव नभएको बताए । उनले आयात–निर्यातकर्ता व्यवसायीका लागि भन्सार क्षेत्रमा झन्झटियो भयो, तुरुन्तै हुने सम्भव छैन, बजारको पुरै अध्ययन त्यसअनुरूप यसलाई परिमार्जनको विकल्प नभएको बताए । कञ्चनपुर उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्षसमेत रहेका चन्दले एमआरपीको विषयमा संघले सरकारसँग आवश्यक पहल गर्ने बताए ।
अर्का व्यवसायी यज्ञराज भट्टले भन्सार विन्दुबाटै एमआरपी लागू भएपछि उपभोक्ताका लागि सहज हुने, तर व्यावहारिक रूपमा केही समस्या हुने बताए । ‘भन्सार चोरी–तस्करी नियन्त्रण भए यसले सार्थकता पाउँछ,’ उनले भने, ‘हाम्रो जिल्ला खुला नाका भएकाले समेत समस्या हुने गरेको छ ।’ कञ्चनपुर उद्योग वाणिज्य संघका महासचिव राहुल भट्टले एक्कासि नियम लागू गर्दा समस्या भएको बताए । ‘झन्झटियो छ, प्रि–प्लानविनै ल्याएको योजना कार्यान्वयनमा चुनौती भएको छ । एक्कासि आएको हुँदा हामी व्यवसायीहरूलाई समस्या परेका छौँ,’ उनले भने, ‘धेरै प्रकारका सामान एकै कन्टेनरमा ल्याउनुपर्ने हुँदा समस्या हुन्छ, हरेक वस्तुको एक–एक गरेर एमआरपी हाल्न कठिनाइ हुन्छ, यसलाई सहजीकरण आवश्यक छ ।’ महासचिव भट्टले उपभोक्ताले तिर्नुपर्ने भन्सारबाटै नेपाली बजारमा पुग्दा मूल्य यकिन हुने भएकाले उपभोक्तामैत्री हुने भए पनि यसमा थप अभ्यास गरेर अघि बढ्नुपर्ने बताए । वाणिज्य संघले एमआरपीका विषयमा स्थानीय स्तरसम्म एमआरपीबारे छलफल गर्ने बताए ।
कञ्चनपुर भन्सार अधिकृत अम्बिकादेवी सुवेदीले एमआरपी लागू भएपछि भन्सार जाँचपासमा केही कठिनाइ उत्पन्न हुने गरेपछि यस भन्सारमा आयात–निर्यात निकै कम हुने भएकाले झन्झटिलो अवस्था सिर्जना नभएको बताइन्। ‘एमआरपीकै कारण सामान भन्सारमा थन्किएको छैन,’ उनले भनिन्, ‘हामीले आयात–निर्यातकर्ता व्यवसायीहरूलाई उतैदेखि एमआरपी लगाएर सामान ल्याउन आग्रह गरिरहेका छौँ ।’ एमआरपीकै कारण कञ्चनपुर भन्सारमा ठुलो असरसमेत नभएकाले यसलाई थप सहजीकरण गरेर अघि बढ्ने बताइन् ।