यस्ता छन् नवनिर्वाचित अध्यक्ष श्रेष्ठका ६ स्तम्भ
- महासंघले प्रदान गर्ने सेवा सुदृढीकरणको र सञ्जालको विस्तार
- आर्थिक सुधार र सुशासन
- प्रतिस्पर्धात्मकता र वृद्धि
- विकास सहयोग र निजी क्षेत्र विकास
- श्रम, सिप र उत्पादकत्व सुधार
- निजी क्षेत्र प्रवर्द्धन र संरक्षण
नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष अञ्जन श्रेष्ठले पदबहाली गरेका छन् । महासंघ सचिवालय टेकुमा बिहीबार आयोजित कार्यक्रमबिच उनले २१औँ अध्यक्षका रूपमा कार्यभार सम्हालेका हुन् ।
महासंघको बुधबार सम्पन्न ६०औँ साधारणसभापछि श्रेष्ठ वरिष्ठ उपाध्यक्षबाट स्वतः अध्यक्ष बनेका हुन् । महासंघको यसअघिको विधानमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने प्रावधान थियो । सोहीअनुसार महासंघको नेतृत्वमा आइपुगेका श्रेष्ठलाई बिहीबार निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघ सचिवालयमा पद तथा गोपनीयताको शपथग्रहण गराउँदै कार्यभार हस्तान्तरण गरेका हुन् । निर्वाचित अन्य पदाधिकारी तथा कार्यकारिणी सदस्यहरूलाई नवनिर्वाचित अध्यक्षले पद तथा गोपनीयताको शपथग्रहण गराए । पदबहालीलगत्तै नवनिर्वाचित पदाधिकारीसँगको परिचयात्मक तथा भेटघाट कार्यक्रममा नवनिर्वाचित अध्यक्ष श्रेष्ठले आफ्नो कार्यकालका प्राथमिकता समेटिएको ‘६ स्तम्भ, ६० पहल’ कार्यक्रम घोषणा गरे । ‘मैले निजी क्षेत्रको दीर्घकालीन हित, लगानीमैत्री वातावरण निर्माण तथा महासंघको संस्थागत सुदृढीकरणलाई प्राथमिकतामा राखेर तयार पारेको ६ स्तम्भ, ६० पहल कार्यक्रम आफ्नो तीनवर्षे कार्यकालको प्राथमिकता रहनेछ,’ श्रेष्ठले भने, ‘यहीअनुसार महासंघले अगाडि बढाउने रणनीतिक कार्यक्रम तथा कार्ययोजना कार्यान्वयन मेरो प्राथमिकता रहनेछ ।’
महासंघका निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघका एजेन्डा निजी क्षेत्र प्रवर्द्धनका लागि हुनुपर्नेमा जोड दिए । पूर्वअध्यक्ष महेशलाल प्रधानले देशमा औद्योगिक तथा व्यावसायिक वातावरण निर्माणमा महासंघले सशक्त भूमिका निर्वाह गर्नुपर्ने बताए । यस्तै, पूर्वअध्यक्ष भवानी राणाले आर्थिक विकास र समृद्धिका लागि निजी क्षेत्रको साथ लिन सरकारलाई आग्रह गर्दै आर्थिक एजेन्डामा एक भएर काम गर्न नयाँ कार्यसमितिलाई सुझाव दिइन् ।