विस्फोटक पदार्थ तथा निर्वाचनसम्बन्धी कसुरमा पुर्पक्षको लागि कारागारमा रहेका नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य मनोज चौधरीलाई धरौटीमा छाड्न आदेश गरेको छ।
जिल्ला अदालतको आदेश बदर गर्दै उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्जले चौधरीलाई दुई लाख ५० हजार धरौटी लिएर छाड्न आदेश दिएको हो। न्यायाधीश गोकर्ण डाँगी र दुर्गाप्रसाद ढुंगेलको संयुक्त इजलासले थुनामा रहेका चौधरीसँग धरौटी माग गर्ने निर्णय गरेको अदालतका सूचना अधिकारी ध्रुव सुवेदीले जानकारी दिए।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा पर्सा क्षेत्र नं २ बाट उम्मेदवारी दिएका चौधरीलाई पर्सा प्रहरीले मतदानभन्दा दुई दिनअघि नियन्त्रणमा लिएको थियो। चौधरी सवार गाडीमा विस्फोटक पदार्थ फेला परेको आरोपमा उनलाई पर्सा जिल्ला अदालतले गत चैत १२ गते थुनामा पठाउन आदेश गरेको थियो।
उनीसँगै पक्राउ परेका पर्सागढी नगरपालिका– ३ निवासी सत्यनारायण दास थारू, धनुषाधाम नगरपालिकाका सुरज कार्की र सवारीचालक बाराको प्रसौनी गाउँपालिका– ४ निवासी सहाब अलाम अन्सारीलाई धरौटीमा छाड्न भनेको थियो।
उनीहरूको हकमा जिल्लाकै आदेश सदर भएको अस्थायी इजलास वीरगन्जका सूचना अधिकारी सुवेदीले बताए।