लक्ष्मी सनराइज बैंकले विश्व बैंक समूहअन्तर्गतको निजी क्षेत्रीय अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी)सँग बैंकिङ अन उमन पहलअन्तर्गत ग्लोबल डब्ल्युएमएसएमई सेक्स डिसएग्रिगेटेड डाटा सहकार्य सम्झौता गरेको छ।
उक्त कार्यक्रमलाई महिला उद्यमशीलता प्रवर्द्धनका लागि स्थापित बहुपक्षीय अन्तर्राष्ट्रिय पहल उमन आन्टरप्रेनर्स फाइनान्स इनिसिएटिभ (विइ–फाई)ले सहयोग गरिरहेको छ। विइ–फाई विश्वभरका महिला नेतृत्व तथा स्वामित्व भएका साना तथा मझौला उद्यममा लगानी तथा वित्तीय पहुँच विस्तार गर्ने उद्देश्यले स्थापना गरिएको बहुदातृ अन्तर्राष्ट्रिय प्लेटफर्म हो।
यसअन्तर्गत सञ्चालन हुने उमन आन्टरप्रेनर्स फाइनान्स कोड वित्तीय संस्था, नियामक निकाय तथा वित्तीय प्रणालीसँग आबद्ध सरोकारवाला बीचको साझा प्रतिबद्धता हो, जसले महिला उद्यमीलाई आवश्यक वित्तीय स्रोत उपलब्ध गराई आर्थिक वृद्धि र रोजगारी सिर्जनामा योगदान पु¥याउने लक्ष्य राख्छ।
सम्झौतामा बैंकका तर्फबाट कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सुमेद भट्टराई तथा आइएफसीका दक्षिण एसिया क्षेत्रीय प्रबन्धक मेहदी चेरकाउईले हस्ताक्षर गरेका हुन्।
सहकार्यअन्तर्गत आइएफसीले बैंकलाई लैङ्गिक आधारमा विभाजित तथ्यांकको संकलन, विश्लेषण तथा उपयोग प्रकृया सुदृढ बनाउन सहयोग गर्नेछ। यसले महिलाको स्वामित्वमा रहेका साना तथा मझौला उद्यमहरूका आवश्यकता, चुनौती तथा अवसरबारे बुझाइको विकास गर्न मद्दत गर्ने बताइएको छ। यसका आधारमा बैंकले महिला उद्यमीहरूका लागि अझ प्रभावकारी तथा उपयुक्त वित्तीय समाधानहरू विकास गर्न सक्नेछ।