कामना सेवाले दियो विद्यालयलाई शैक्षिक सामग्री सहयोग

बिहिबार, २४ बैशाख, २०८३
डिजिटल संस्करण

कामना सेवा विकास बैंक लिमिटेडले विद्यार्थीलाई स्टेसनरी तथा शैक्षिक सामग्री वितरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शाखा कार्यालय नवलपरासी (सुस्तापूर्व) सर्दीमार्फत स्थानीय जनकल्याण आधारभूत विद्यालयका विपन्न विद्यार्थीलाई उक्त सहयोग गरेको हो ।

बैंकको नारायणगढ क्षेत्र प्रमुख सुरेन्द्र भण्डारीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दलबहादुर सिन्जालीलाई सहयोग सामग्री हस्तान्तरण गरेका हुन् । विद्यालयमा नर्सरीदेखि कक्षा आठसम्म अध्ययनरत १३८ जना विद्यार्थीलाई विभिन्न प्रकारका शैक्षिक सामग्री वितरण गरिएको थियो । 

सहयोग हस्तान्तरण गर्दै अध्यक्ष सिन्जालीले बैंकले गरेको सहयोगप्रति आभार प्रकट गर्दै यो सहयोगले विद्यार्थीको सिकाइ प्रक्रियालाई सहज र प्रभावकारी बनाउन सहयोग पुग्ने सिन्जालीले बताए । यस्ता कार्यक्रमले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको मनोबल बढाउनुका साथै शिक्षा क्षेत्रमा सकारात्मक प्रभाव पार्ने उनले धारणा राखे । 

क्षेत्रप्रमुख भण्डारीले विद्यार्थीको पठनपाठनमा थप सहजता र प्रेरणा ल्याओस् भन्ने उद्देश्यले शैक्षिक सामग्री वितरण गरिएको बताए । उक्त कार्यक्रममा बैंकका कर्मचारी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, विद्यालयका प्रध्यानाध्यापक, शिक्षक तथा विद्यार्थीको उपस्थिति थियो ।
 

सुझावित समाचार