तृणमूल कंग्रेसकी नेतृ ममता बनर्जीले पश्चिम बंगालको मुख्यमन्त्री पदबाट राजीनामा दिन अस्वीकार गरेकी छिन् । राज्यमा हालै सम्पन्न विधानसभा चुनावमा भारतीय जनता पार्टी (भाजपा)सँग पराजित भए पनि मंगलबार बनर्जीले आफूले चुनाव ‘नहारेका’ले त्यसै राजीनामा नदिने बताइन् । सन् २०११ देखि पश्चिम बंगालमा मुख्यमन्त्री रहेकी ममता बनर्जीको तृणमूल कंग्रेस (टिएमसी)को चुनावमा ८० सिट हासिल गर्दा भाजपाले कुल २९४ सिटमा दुईतिहाइभन्दा बढी अर्थात् २०७ जित हासिल गर्यो ।
बंगलादेशको सिमानामा रहेको यस पूर्वी राज्यमा भाजपाले यसअघि कहिल्यै सरकार बनाउन सकेको थिएन । यसैले, यस जितलाई पार्टीका लागि राजनीतिक कोसेढुंगाका रूपमा हेरिएको छ । विशेषतः पश्चिम बंगालमा जितसँगै भाजपाले पूर्वी भारतका लगभग सबै राज्यमा नियन्त्रण कायम गरेको छ ।
तृणमूलले यसअघि सन् २०२१ मा भएको निर्वाचनमा २१५ सिट जितेको थियो । सिट संख्यामा ठुलो गिरावट आउँदा बनर्जी आफैँले आफ्नो सिट जित्न सकिनन् । बनर्जीले मंगलबार पत्रकारसँग बोल्दै आफ्नो पार्टीलाई लगभग सय सिटमा ‘जबर्जस्ती हराइएको’ बताउँदै चुनावमा ‘पक्षपाती’ निर्वाचन आयोगसँग पनि लड्नुपरेको बताइन् ।
‘म राजीनामा दिनेछैन । आधिकारिक रूपमा निर्वाचन आयोगको सहयोगले भाजपाले हामीलाई हराउन सक्ला, तर नैतिक रूपमा हामीले चुनाव जितेका छौँ,’ ममताले पत्रकार सम्मेलनमा भनिन् । पश्चिम बंगालका मुख्य निर्वाचन अधिकारी मनोजकुमार अग्रवालले आरोपलाई ‘निराधार’ बताए ।
अदालतमा नतिजाबारे पुनरावेदन गर्न सक्छिन्
भारतीय संविधानअनुसार राज्यका राज्यपाल (गभर्नर)ले चुनाव हारेकी पार्टीकी मुख्यमन्त्री बनर्जीको राजीनामा माग गर्न सक्छन् वा उनको कार्यकाल समाप्त हुने अवधि पर्खने विकल्प रोज्न सक्छन् । त्यसपछि नवनिर्वाचित सांसदले शपथ लिनेछ र नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ । बनर्जीको कार्यकाल बिहीबार समाप्त हुँदै छ ।
भारतका राज्यमा हुने चुनावमा पराजित उम्मेदवारले चुनावका क्रममा भएको भ्रष्ट अभ्यास, मनोनयन वा भोटको अनुचित स्वीकृति वा अस्वीकृति, उम्मेदवार अयोग्यता, वा परिणामलाई असर गर्ने निर्वाचन कानुनको पालना नभएकोजस्ता आधारमा नतिजाविरुद्ध अदालतमा चुनौती दिन सक्छन् । तथापि, पत्रकार सम्मेलनमा बनर्जीले अदालत जाने–नजानेबारे केही बताइनन् ।