भरतपुर महानगरपालिकाका कार्यवाहक मेयर मित्रसेन अधिकारीले फोहोरमैला व्यवस्थापन तथा न्यूनीकरणका लागि नीति निर्माणलाई पहिलो प्राथमिकतामा राखिएको बताएका छन्।
बुधबार युरोपियन युनियनको सहयोगमा क्रिएसन नेपालद्वारा सञ्चालित ग्रिनसिफ्ट परियोजनाअन्तर्गत फोहोरमैला व्यवस्थापन नीति निर्माणका लागि चितवनमा आयोजित कार्यशालामा अधिकारीले महानगरपालिकाको टोली यस विषयमा गम्भीरतापूर्वक लागिपरेको बताए।
उनले दीर्घकालीन रूपमा प्रभावकारी फोहोरमैला व्यवस्थापनका लागि स्पष्ट नीति आवश्यक रहेको उल्लेख गरे।
क्रिएसन नेपालकी कार्यक्रम निर्देशक सुजाता कोइरालाले भरतपुर महानगरका लागि आवश्यक कानुन निर्माणमा सहयोग पुर्याउनु परियोजनाको महत्त्वपूर्ण उद्देश्य रहेको बताइन्। उनका अनुसार स्थानीय तहमा दिगो फोहोरमैला व्यवस्थापन प्रणाली विकास गर्न नीतिगत आधार बलियो बनाउनुपर्ने आवश्यकता रहेको छ।