वीरगन्जस्थित नारायणी अस्पतालमा सञ्चालन भएको ‘नबिल निःशुल्क जलन उपचार शिविर’मार्फत एक सय ५० जनाले परामर्श तथा उपचारसेवा लिएका छन् । नारायणी अस्पताल वीरगन्ज र नबिल बैंकको संयुक्त आयोजना तथा फेक्ट नेपालको प्राविधिक सहयोगमा यही १७ देखि २० वैशाखसम्म शिविर आयोजना गरिएको थियो । शिविरमा ४६ जना बिरामीको वरिष्ठ चिकित्सकद्वारा शल्यक्रिया गरिएको बैंकले जनाएको छ । त्यसमध्ये जटिल किसिमका ६ जना बिरामीलाई काठमाडौंको कीर्तिपुरस्थित अस्पतालमा रिफर गरिएको छ ।
शिविर सञ्चालन गर्नुअघि मधेश प्रदेशका विभिन्न ६ जिल्लाका २७ पालिकामा स्क्रिनिङ क्याम्प आयोजना गरिएको थियो । उक्त क्याम्पमा फेक्ट नेपालका स्वास्थ्यकर्मीले स्थानीय तहमै पुगेर बिरामीको प्रारम्भिक विवरण लिएका थिए ।
बैंकले काठमाडौंमा कार्यरत विशेषज्ञ चिकित्सकमार्फत दुर्गम स्थानमा रहेका जलनसम्बन्धी बिरामीलाई निःशुल्क उपचार र परामर्श दिँदै आएको छ । ‘नेपालमा जलनसम्बन्धी घटनाका पीडितले अझै पनि उचित उपचार नपाएर बस्नुपर्ने अवस्था रहेकामा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मधेशका दुर्गम क्षेत्रमा रहेका जलनपीडितलाई लक्षित गरी शिविर आयोजना गरेको हो,’ बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मनोजकुमार ज्ञवालीले भने । बैंकका अनुसार वैशाख २५ देखि २८ सम्म लुम्बिनी प्रदेशमा पनि यस प्रकारको शिविर आयोजना हुँदै छ ।
फेक्ट नेपाल, कीर्तिपुर अस्पतालका वरिष्ठ प्लास्टिक सर्जन डा. शंकरमान राईसहितका विशेषज्ञ चिकित्सकको टोलीले मधेश प्रदेशका जलनका बिरामीलक्षित शिविरमा शल्यक्रिया गरेका हुन् । बैंकले यअघि सुदूरपश्चिम र कर्णाली प्रदेशका विभिन्न स्थानमा निःशुल्क जलन शिविर सञ्चालन गरिसकेको छ ।
गत फागुन १२ देखि १४ गतेसम्म धनगढीमा सञ्चालन भएको उक्त पहिलो शिविरमार्फत ६५ जना र गत चैत २७ देखि कर्णालीमा प्रदेशमा सञ्चालन भएको शिविरमा एक सय ९४ जनाले उपचार तथा परामर्श सेवा प्राप्त गरेका थिए ।