बर्दियाका चार स्थानीय तहमा स्वास्थ्य बिमा संयोजन समिति गठन भएका छैनन्। राजापुर, मधुवन तथा गुलरिया नगरपालिका र बढैयाताल गाउँपालिकाले स्थानीय तह स्वास्थ्य बिमा संयोजन समिति गठन गर्न चासो दिएका छैनन्।
स्वास्थ बिमाको कार्यक्रमलाई कार्यान्वयन र सहजीकरण गर्नका लागि प्रत्येक पालिकामा ‘स्थानीय तह स्वास्थ्य बिमा संयोजन समिति’ रहने व्यवस्था छ। स्वास्थ्य बिमा ऐन, २०७४ ले स्थानीय तह स्वास्थ्य बिमा संयोजन समिति गठन–सञ्चालनको व्यवस्था गरेको छ।
ऐनअनुसार बारबर्दिया, ठाकुरबाबा र बाँसगढी नगरपालिका तथा गेरुवा गाउँपालिकाले स्थानीय तह स्वास्थ्य बिमा संयोजन समिति गठन गरेका स्वास्थ्य बिमा बोर्ड जिल्ला सम्पर्क शाखा कार्यालयका प्रमुख डिकेन्द्रबहादुर विष्टले बताए।
उनले भने, ‘पालिकाको प्रमुख/अध्यक्ष संयोजक रहने गरी सात सदस्यीय स्वास्थ्य बिमा संयोजन समिति गठन गर्नुपर्ने हुन्छ। अहिलेसम्म चार स्थानीय तहमा बिमा संयोजन समिति गठन भएको छ भने चार स्थानीय तहमा बाँकी छ।’