प्रमुख पर्यटकीय स्थल रारामा नौ महिनामा साढे १३ हजारभन्दा बढी पर्यटक पुगेका छन्। गत साउनदेखि चैत मसान्तसम्म १३ हजार ८८३ जनाले रारा भ्रमण गरेका हुन्।
रारा राष्ट्रिय निकुञ्ज कार्यालयका प्रमुख वरिष्ठ संरक्षण अधिकृत विश्वबाबु श्रेष्ठका अनुसार १३ हजार ६६१ जना आन्तरिक पर्यटक हुन्। सार्क राष्ट्रका ६९ र अन्य देशका १३३ जनाले रारा भ्रमण गरेका छन्।
पछिल्लो नौ महिनामा रारा घुम्न आएका पर्यटकको संख्या अघिल्लो वर्षको साेही समयमा भन्दा बढी रहेको उनले बताए। उनका अनुसार पछिल्लो समय दैनिक ६० देखि ७० जना पर्यटक रारा पुग्ने गरेका छन्। यही हिसाबले असर मसान्तसम्म पर्यटकको संख्या १८–१९ हजार पुग्ने उनको अनुमान छ।
निकुञ्जले सो अवधिमा ५२ लाख ३४ हजार ३३१ रुपैयाँ राजस्व संकलन गरेको छ। निकुञ्जको कार्यालयले चैत मसान्तसम्म पर्यटन शुल्कबाट मात्र २५ लाख १३ हजार ८३० रुपैयाँ राजस्व उठाएको छ। बाँकी राजस्व दण्ड जरिवाना, वन पैदावार पुर्जी, सडेको काठ–दाउरा बिक्रीलगायतका शीर्षकहरूबाट जम्मा भएको छ।
निकुञ्जले आन्तरिक पर्यटकबाट प्रतिव्यक्ति एक सय, सार्क राष्ट्रका नागरिकलाई एक हजार पाँच सय र अन्य देशका नागरिकलाई तीन हजार शुल्क तोकेको छ।