लेखक केशवराज ज्ञवालीको ऐतिहासिक उपन्यास ‘अज्ञात’ सार्वजनिक गरिएको छ। सोमबार नेपाल पर्यटन बोर्डमा आयोजित कार्यक्रममा लेखक ज्ञवालीसँगै पत्रकार एवं लेखक मोहन मैनालीले कृतिको आवरण अनावरण गरे।
उपन्यासका सन्दर्भमा रहेर कार्यक्रममा ज्ञवालीसँग मैनालीले संवाद गरेका थिए। एक प्रसंगमा मैनालीले इतिहास लेख्न कत्तिको अप्ठ्यारो हुँदो रहेछ, कसरी सम्भव भयो ? भनेर प्रश्न गरेका थिए।
जवाफमा ज्ञवालीले आफू यो ऐतिहासिक कृति लेख्दा उपलब्ध तथ्यका आधारमा सत्यसम्म पुग्ने प्रयास गरेको बताएका थिए।
‘अज्ञात’ नेपाली इतिहासको वि.सं. १८४३ देखि १८७० सम्मको कथा हो। गोर्खा राज्यको विस्तार, त्यसमा पनि पश्चिम अभियानको कथा यसमा समेटिएको छ। पश्चिम किल्ला काँगडासम्म पुग्दा युद्धको साधनका रूपमा प्रयोग भएका आममानिसको कथा यसमा समेटिएको लेखक ज्ञवालीले बताए।
उपन्यासलाई फाइन प्रिन्टले प्रकाशन गरेको हो।