नेकपा एमाले लुम्बिनी प्रदेश सभा संसदीय दलका उपनेता भोजप्रसाद श्रेष्ठद्वारा लिखित ‘अठोट’ पुस्तकको आइतबार बुटवलमा लोकार्पण गरिएको छ।
बुटवलका पूर्वनगरप्रमुख तथा लुम्बिनी प्रदेश सरकारका पूर्वमन्त्रीसमेत रहेका श्रेष्ठले पुस्तकमा संकल्प, सपना, संघर्षका विषयवस्तुहरू समेटेका छन्। बाल्यकालदेखि पढाइलेखाइ तथा राजनीतिक यात्रा, समाजसेवाका क्रममा आफूले गरेका कामहरूलाई उनले पुस्तकमा चर्चा गरेका छन्।
बुटवलको प्रमुख हुँदा तथा सुकुमवासी समस्या समाधान आयोगको रुपन्देहीको नेतृत्वमा रहेर काम गर्दाका अनुभवदेखि धेरै विषयवस्तु समेटिएको पुस्तकबारे लोकार्पण समारोहमा चर्चा गरिएको छ।
कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विगत एक दशकमा मुलुकको विकास र समृद्धिमा उल्लेख्य प्रगति भएको दाबी गर्दै लेखक श्रेष्ठले विगतमा खेलेको भूमिकाको प्रशंसा गरे। उनले ‘अठोट’ प्रेरणादायी कृति भएको उल्लेख गर्दै विशेष गरी युवा पुस्ताले यसबाट सिकेर अघि बढ्नुपर्ने धारणा राखे।
प्रगतिशील लेखक संघ रुपन्देहीद्वारा आयोजित कार्यक्रममा साहित्यकारहरू तथा समीक्षकहरूले पुस्तकको विभिन्न कोणबाट चर्चा गरेका थिए। गिरि श्रीष, डिआर घिमिरे, माधव पौडेलले पुस्तकको समीक्षा गर्दै भोजप्रसादले गरेको योगदान तथा पुस्तकबारे धारणा राखे।
एमाले प्रदेश अध्यक्ष राधाकृष्ण कँडेल, कांग्रेसका युवराज गिरि, बुटवलका पूर्वउपप्रमुख विमलबहादुर शाक्य, साहित्यकार तथा लेखकहरू डाक्टर मुराली पराजुली, ज्ञानु केसी, युवराज घिमिरे, कृष्ण गाउँलेलगायतले पुस्तक तथा लेखकबारे चर्चा गरेका थिए।