मकवानपुरको बैकुण्ठमा बर्थिङ सेन्टर सञ्चालन

सोमबार, २१ बैशाख, २०८३
डिजिटल संस्करण

मकवानपुरको विकट मानिने कैलाश गाउँपालिका– २, बैकुण्ठमा बर्थिङ सेन्टर (प्रसूति केन्द्र) सञ्चालनमा आएको छ। केन्द्र सञ्चालनमा आएसँगै स्थानीय गर्भवती महिलाले अब गाउँमै सुरक्षित प्रसूति सेवा पाउने भएका छन्।

धादिङको रोराङ बेनीघाट गाउँपालिका– ४ सँग सिमाना जोडिएको बैकुण्ठ क्षेत्रका महिला यसअघि सुत्केरी गराउन घण्टौँ पैदल यात्रा गरेर वडा नम्बर १ को वरभन्ज्याङ वा मनहरी, हेटौँडासम्म पुग्नुपर्ने बाध्यता थियो। प्रसूति केन्द्र सञ्चालनसँगै उक्त समस्या अन्त्य भएको गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाले प्रत्येक वडामा बर्थिङ सेन्टर सञ्चालन गर्ने लक्ष्यअनुसार वडा नम्बर २ मा प्रसूति सेवा सुरु गरेको गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले जानकारी दिए। बर्थिङ सेन्टरको उद्घाटन गर्दै अध्यक्ष मुक्तानले मातृ तथा शिशु स्वास्थ्य सुरक्षालाई प्राथमिकता दिँदै घरमै सुत्केरी गराउने अवस्थाको अन्त्य गर्ने उद्देश्यले केन्द्र स्थापना गरिएको बताए।

उनका अनुसार गाउँपालिकाका अधिकांश वडामा आधारभूत स्वास्थ्य केन्द्र स्थापना भइसकेको छ भने अब दुई वडामा मात्रै बर्थिङ सेन्टर सञ्चालन गर्न बाँकी छ। निःशुल्क औषधि, पोषण तथा खोप कार्यक्रममार्फत स्वास्थ्य सेवा सुदृढ गर्दै आएको पनि उनले जानकारी दिए।

वडा नम्बर २ का अध्यक्ष राजेन्द्र घिसिङले १० लाख रुपैयाँ लागतमा दुईकोठे भवन निर्माण गरी आवश्यक उपकरणसहित प्रसूति सेवा सुरु गरिएको बताए। 

स्थानीय जग्गादाता ललितबहादुर मुक्तानले करिब तीन रोपनी जग्गा उपलब्ध गराएपछि स्वास्थ्य संस्था निर्माण सम्भव भएको हो। केन्द्र सञ्चालनसँगै कैलाश बैकुण्ठसहित आसपासका क्षेत्रका गर्भवती महिलाले सहज र सुरक्षित प्रसूति सेवा पाउने अपेक्षा गरिएको छ।

सुझावित समाचार