हरेक वर्ष मे १ को दिन विश्वका अधिकांश भागले ‘अन्तर्राष्ट्रिय श्रमिक दिवस’ वा छोटोमा मे दिवस मनाउँछ । यस दिनमा कामदारहरूको अधिकार र श्रम आन्दोलनको इतिहासलाई सम्झना र सम्मान गरिन्छ । धेरै देशहरूमा सार्वजनिक बिदा दिइने यस दिवस परम्परागत रूपमा संयुक्त राज्य अमेरिकामा भने खासै महत्व दिइएन । उसो त अमेरिका अन्तर्राष्ट्रिय श्रम ऐक्यबद्धता वा श्रमिक अधिकार मुद्दामा ठुलो भूमिकामा देखिँदैन ।
त्यसैले अमेरिका र यसको उत्तर छिमेकी क्यानडाले भने सेप्टेम्बरमा अलग श्रम दिवस मनाउँछ । तर, मे दिवसको उत्पत्तिको इतिहास हेर्ने हो भने त्यसको जरा अमेरिकामै जोडिन्छ । सन् १८८६ को मे महिनाको पहिलो दिन दिनमा आठ घण्टाभन्दा बढी काम गराउन नपाउने माग राख्दै ठुलो हडताल सुरु भएको थियो, जुन प्रहरी दमनका कारण हिंसात्मक बन्न पुग्यो ।
आजकल, श्रमिकहरूको अधिकार एक नयाँ क्षेत्र अर्थात् आर्टिफिसिल इन्टिलिजेन्स(एआई)बाट दबाबमा छ । यसले श्रमिकहरूको काम गर्ने अधिकारलाई नै खतरामा पारेको छ । जस्तो, यही वर्षको सुरुमै अमेजनले (जुन अमेरिकामा वालमार्टपछि दोस्रो ठुलो रोजगारदाता हो) एकैपटक १६,००० कर्मचारी हटाउने निर्णय गर्यो । यस कटौतीको पछाडि मुख्यतः सो कम्पनीमा एआईको भूमिका बढ्नु बताइएको छ । यसअघि अक्टोबर २०२५ मा, द न्यु योर्क टाइम्समा प्रकाशित समाचारअनुसार अमेजनले ‘आफ्ना पाँच लाखभन्दा बढी श्रमिकलाई रोबोटमार्फत प्रतिस्थापन गर्ने’ योजना बनाएको छ ।
अमेजन, स्टार–बक्स र ट्रेडर जोजस्ता कम्पनीले आफ्ना संस्थाभित्र रहेका ट्रेड युनियन कमजोर बनाउन अप्रिय कदम चालेका छन् । यी संस्थाले युनियन समर्थक कामदारलाई बर्खास्त गर्नेदेखि सुविधा रोक्ने धम्की दिनेजस्ता रणनीति अपनाए । कार्यस्थलमा अधिकार नमाग्ने ‘एआई श्रमिक’को उपस्थितिले अब मजदुर हरसमय जोखिममा रहनेछन् ।
अमेरिका हाल एआई विकासमा विश्वमै अग्रस्थानमा छ । अमेरिकाको कठोर पुँजीवादसँगको विशेष सम्बन्ध र यहाँ पहिलेदेखि श्रमिकले मेसिनजस्तै प्रदर्शन गर्नुपर्छ अन्यथा कामबाट निकालिन तयार हुनुपर्छ भन्ने विचार रहेको कुरालाई ध्यानमा राख्दा यो त्यति अनौँठो विकासक्रम होइन । यस्तोमा अहिले कामदारलाई बढी उत्पादन दिने मेसिन आएपछि श्रमिकलाई मेसिनबाट प्रतिस्थापन गर्नुभन्दा अर्को तार्किक कदम के हुन सक्छ ? विश्वको अग्रणी एआई तथा प्रविधि हब सान फ्रान्सिस्कोको हालैको यात्रामा जताततै होडिङबोर्ड र अन्यत्र एआईको प्रचार मात्र देखिन्थ्यो । ती दृश्य हेर्दा कुनै ‘डिस्टोपिक’ चलचित्रभित्र रहेको महसुस भइरहेको थियो ।
म दक्षिण अमेरिकाबाट अमेरिकातर्फको बसाइँसराइको प्रमुख विन्दु ‘डेरियन ग्याप’मा भेटेको एकजना युवा कोलम्बियाली मानिसलाई भेट्न सहरमा गएको थिएँ । उनी ‘अमेरिकन ड्रिम’को खोजीमा वा कम्तीमा पर्याप्त बाँच्न पुग्ने पैसाको खोजीमा उत्तरतर्फ लागेका थिए । अहिले उनी सान फ्रान्सिस्को खाडी क्षेत्रमा घरवार निर्माण क्षेत्रमा काम गर्छन् । मैले सोचेको थिएँ, निर्माण क्षेत्रचाहिँ कम्तीमा एआईको असरबाट अहिलेका लागि मुक्त छ । तर, इन्टरनेटले म गलत रहेको जानकारी दियो । सहरमा घुम्दा एआईबाहेक अरू कुनै कुराको प्रचार गरिएका बिलबोर्ड देख्न नै गाह्रो थियो ।
सान फ्रान्सिस्कोस्थित एआई एजेन्सी ‘आर्टिसन’को नाममा राखिएका स्थानीय विज्ञापन अभियानले यसको स्पष्ट कठोर प्रकृतिका कारण धेरैको ध्यान तानेको छ । उसको पोस्टरका नाराले भन्छ– ‘अब मानिसहरूलाई काममा भर्ना गर्न बन्द गर्नुस् ।’ ‘एआई कर्मचारीहरूको युग आइसक्यो’ र ‘हाम्रा एआई कर्मचारीले काम र जीवनको सन्तुलनबारेमा गुनासो गर्दैनन् ।’ २४ वर्षीय आर्टिसनका सिइओ जास्पर कार्मिकल–ज्याकले यी प्रचार अभियानलाई जानाजान गरिएको ‘उत्तेजक’ प्रचार अभियान भन्दै बचाउ गरे । साथै, उनले आफ्नो फर्मको उद्देश्य आफ्ना नाराले संकेत गरेजस्तो अमानवीय नभएको सुझाव दिए । ‘हामी मानिसहरूले गर्न नचाहने खालका कामलाई प्रतिस्थापन गर्न जाँदै छौँ, ताकि मानिसहरूले बचेको समय रमाइलो गरेर बिताउन सकून्,’ कार्मिकल–ज्याकले भने ।
आजभोलि श्रमिकहरूको अधिकार आर्टिफिसिल इन्टिलिजेन्स (एआई)बाट दबाबमा छ किनकि एआईले उनीहरूको काम गर्ने अधिकारलाई नै जोखिममा पारेको छ
कार्मिकल–ज्याकले यी कुरा भनिरहँदा वास्तविकता ख्याल गर्न बिर्सिएजस्तो लाग्यो । किनकि वास्तविक संसारमा धेरै मानिसका लागि, जागिर खासमा आय गर्ने, दैनिक आवश्यकता पूरा गर्ने र अस्तित्वको आधारभूत आवश्यकता पूरा गर्ने माध्यम हो । अर्को शब्दमा भन्दा एआईका कारण आफ्नो जागिर गुमाउने औसत अमेजन कामदारले अब बचेको समय स्वेच्छाले ‘आनन्द’मा बिताउँछन् भन्ने कुरा सम्भव छैन ।
वालमार्टमा ‘सेलिङ वुमन सर्ट : द ल्यान्डमार्क ब्याटल फर वर्कर्स राइट्स’ पुस्तककी लेखिका लिजा फेदरस्टोनले मलाई भनेकी थिइन्, ‘अर्बपति वर्गले कामदारविनाको संसार चाहन्छन् वा कम्तीमा एउटा यस्तो संसार चाहन्छन्, जहाँ कामदारहरूले सकेसम्म असहाय र अनिश्चित महसुस गरून् । उनीहरू मानव श्रमिकको मानवजस्तो व्यवहार गरियोस् भन्ने मागलाई सम्बोधन गर्नु साटो एआई अवलम्बन गर्न चाहन्छन् !’ उसो त रोजगारीको अनिश्चितता पहिलेदेखि नै एक आन्तरिक घटक हो । किनकि आफ्नो जागिर गुमाउने डरमा बाँच्ने कामदारहरूले आफ्नो अधिकारका लागि बोल्ने सम्भावना कम हुन्छ ।
अमेजन, स्टार–बक्स र ‘ट्रेडर जो’जस्ता कम्पनीले आफ्ना सस्थाभित्र रहेका ट्रेड युनियन कमजोर बनाउन गरेको हालैको घिनलाग्दो इतिहास हेर्नुहोस् । यी संस्थाले युनियन समर्थक कामदारलाई बर्खास्त गर्ने र युनियनको पक्षमा उभिने कर्मचारीको स्वास्थ्य सुविधा रोक्ने धम्की दिनेजस्ता स्पष्ट रूपमा गैरकानुनी र गुप्त रणनीति अपनाए । कमजोर ट्रेड युनियन र कार्यस्थलमा अधिकार नमाग्ने ‘एआई श्रमिक’को उपस्थितिले अब मजदुर हरसमय डरमा हुनुपर्नेछ । अन्तिममा एआई पृथ्वीका बासिन्दालाई डिजिटल रूपमा रूपान्तरण गर्ने लामो कर्पोरेट प्रयासको प्रतिफल मात्र होइन । यो त खासमा यो श्रमिक उत्पीडनको लामो कर्पोरेट अभ्यासको परिणति पनि हो ।
बुझ्नलाई एआईका समस्याबारे बुझ्न मैले ‘एआईका समस्या’बारे गुगल सर्च गरेँ । मैले पाएको उत्तरअनुसार एआईका समस्यामा ‘तत्काल प्राविधिक विफलता र यसको अवलम्बनमा कायम नैतिक अन्योल’ छन् । दीर्घकालीन रूपमा सामाजिक र सुरक्षा जोखिम उल्लेख थियो । सन् २०२६ को सुरुवातमा तोकेर भन्दा एआईका मुख्य समस्या ‘गलत जानकारी दिने, पहिलेदेखि समाजमा कायम पूर्वाग्रहलाई निरन्तरता दिने र पर्याप्त वातावरणीय तथा डेटा सुरक्षा जोखिम निम्त्याउने प्रवृत्ति’ समावेश थियो ।
अवश्य पनि, यीमध्ये कुनै पनि समस्याले कर्पोरेट ‘प्लुटोक््रयाट’लाई एआईमा लगानी बढाइरहन रोकेको छैन । अप्रिल २९ मा, द न्युयोर्क टाइम्सको एक समाचारले खुलासा गरेअनुसार ‘सन् २०२६ को पहिलो तीन महिनामा गुगल, अमेजन, मेटा र माइक्रोसफ्टले मात्र कुल १३०.६५ अर्ब पुँजीगत खर्चमध्ये ठूलो खर्च एआईमा लगानी गरेका छन्, जसको ठुलो हिस्सा एआईलाई ऊर्जा दिने डेटा सेन्टरमा केन्द्रित थियो ।’
यसैबिच, निजी कम्पनीका केही शीर्ष अधिकृतले एआईको लागत मानव श्रमिकहरूको भन्दा धेरै बढी रहेको बताएका छन् । तर, यस्ता कुरालाई महत्व दिनलायक छैन । आफ्नोतर्फबाट, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पूर्ण रूपमा एआई विकासको पक्षमा लागेका छन् । ह्वाइटहाउसबाट मार्चमा जारी गरिएको एक प्रेस विज्ञप्तिमा ट्रम्प प्रशासनले ‘मानव समृद्धि, आर्थिक प्रतिस्पर्धात्मकता र अमेरिकी जनताको राष्ट्रिय सुरक्षाको नयाँ युगको सुरुवात गर्न एआई होड जित्नुपर्ने’ भनेर घोषणा गरिएको छ । तर, जब संसारमा मानव नै रहने सम्भावना कम छ, त्यहाँ मानव समृद्धिको अर्थ के हुन्छ र ? यस्तोमा मे दिवसलाई एआईका लागि कम स्थान दिने दिशामा अगाडि बढ्नुपर्छ ।
अलजजिराबाट (आधा दर्जन पुस्तककी लेखिका फर्नान्डेजका लेख कैयौँ अन्तर्राष्ट्रिय मिडियामा
छापिएका छन् ।)