त्रिभुवन आर्मी क्लबले महिला गोल्डकप फुटबल प्रतियोगिताको फाइनल स्थान पक्का गरेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा चलिरहेको गोल्डकपअन्तर्गत शनिबार संकटा क्लबलाई ४–२ गोलअन्तरले हराउँदै आर्मी अन्तिम दुईमा पुगेको हो । अब आर्मीले उपाधिका लागि नेपाल पुलिसको सामना गर्नेछ । नेपाल पुलिसले पोखरा फुटबल क्लबलाई ८–० गोलले हराउँदै अन्तिम दुई स्थान पक्का गरेको थियो । प्रतियोगिताको फाइनल आइतबार हुनेछ ।
पोखरा रंगशालास्थित फुटबल मैदानमा पहिलो हाफमा १–० को अग्रता लिएको आर्मीले दोस्रो हाफमा थप तीन गोल गर्यो । आर्मीको जितमा चन्द्रा भण्डारीले दुई गोल गरेकी थिइन् । आर्मीका लागि दिपा शाही र हिमा चौधरीले समान एक गोल गरे । संकटाका दुई विदेशी खेलाडी क्विनबेल ए अमनाराह र लिसिया एल जे मोकाम्बिकले गोल फर्काएका थिए । प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफको इन्जुरी समयमा आर्मीकी दिपाले १–० को अग्रता दिलाइन् ।
तुलसा बोहोराको पासमा उनले सहज गोल गरिन् । दोस्रो हाफको सुरुवातमै आर्मीले अग्रता दोब्बर पार्यो । खेलको ४७औँ मिनेटमा संकटाकी गोलरक्षक सुशीला चौधरीले डिफेन्स लाइनबाट आएको बललाई लङसट खेल्न खोज्दा आर्मीकी चन्द्राले गोल गरिन् । उनले ५५औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै आर्मीलाई ३–० को बलियो स्थितिमा राखिन् । खेलको ७०औँ मिनेटमा क्विनवेलले उत्कृष्ट गोल गर्दै संकटालाई ३–१ को गोलअन्तरमा पुर्याइन् । खेलको ७२ औं मिनेटमा संकटाले फ्रिकिकमा गोल गर्दै खेल ३–२ को स्थितिमा पुर्याएको थियो ।
विजेताले पाँच लाख पाउने
लिसिया मोकाम्बिकले प्रहार गरेको फ्रिकिक आर्मीकी गोलरक्षक कोपिला खड्काले समात्ने प्रयास गरेकी थिइन् । तर, उनले बल नियन्त्रणमा लिन सकिनन् । खेलमा आठ मिनेटको अन्तिम इजुरी समय थप भयो ।
आर्मीकी हिमा चौधरीले गोल गर्दै टोलीलाई फाइनलमा पुर्याइन् । प्रतियोगिताको विजेताले पाँच लाख रुपैयाँ प्राप्त गर्नेछ । उपविजेताले तीन लाख रुपैयाँ प्राप्त गर्ने आयोजक आर एस पोखरा फुटबल क्लबले जनाएको छ । उत्कृष्ट खेलाडीले ३० हजार, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्ताले समान १५ हजार रूपैयाँ पाउने छन् । अनुशासित टोलीले २५ हजार रुपैयाँ जित्नेछ । गण्डकी प्रदेशकै इतिहासमा पहिलोपटक पोखरामा महिला गोल्डकपको आयोजना गरिएको आयोजकको हो । प्रतियोगितामा कुल चार टिमको सहभागिता रहेको थियो ।