काठमाडौं महानगरपालिका– २३, जोरगणेश ओम बहाल टोलको न्हुछे बहा (बज्रधातु विहार)बाट चोरी भएको पुरातात्त्विक तथा धार्मिक महत्त्व बोकेको प्रस्तर बुद्ध मूर्ति आफ्नै आसनमा फर्काइएको छ।
संयुक्त राज्य अमेरिकाको न्युयोर्कस्थित टिबेट हाउस कलेक्सनमा पुगेको यो मूर्ति ०७८ फागुन १८ गते नेपाल फिर्ता ल्याइएको थियो। पुरातत्त्व विभाग, नेपाली सम्पदा अभियन्ताहरूले मूर्ति फिर्ता ल्याउने प्रक्रियामा आफूलाई समर्पित गरेपछि फिर्ता भएको मूर्ति राष्ट्रिय संग्रहालयमा राखेर संरक्षण गरिएको थियो।
संग्रहालयमा राखिएको मूर्तिलाई मूल स्थानमा ल्याउन वैशाख १७ गते काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल, वडा नं. २३ का अध्यक्ष एवं महानगरपालिकाको विधायन समितिका संयोजक मचाराजा महर्जनसहित सरोकारवाला कार्यालयका अधिकारीसहित संग्रहालय पुगेका थिए।
प्राचीन स्मारक संरक्षण ऐन, २०१३ को दफा २० (क)बमोजिम मूर्तिको सुरक्षा तथा संरक्षण गर्ने जिम्मेवारी सम्बन्धित गुठियारलाई दिने कागजी प्रक्रिया पूरा गरी राष्ट्रिय संग्रहालयकी प्रमुख अरुणा नकर्मीले बुद्ध मूर्ति हस्तान्तरण गरेकी थिइन्।
मूर्तिलाई त्यस दिन हनुमानढोका हेरचाह अड्डामा राखिएको थियो। यसरी राखिएको मूर्ति वैशाख १८ गते बुद्धजयन्तीको अवसर पारेर विहारमा मूल आसनमा पुनर्स्थापित गरिएको हो।
चोरिएका मूर्ति तथा कलात्मक वस्तुलाई मूल स्थानमा पुनर्स्थापना गरेको यो तेस्रो सम्पत्ति हो । यसअघि कुमारी घरको तोरण र गःगुठी सूर्यमुखी महादेव मन्दिरपरिसरमा रहेको महागौरी (पार्वती)को मूर्ति पनि मूल आसनमा फर्काइसकिएको छ।
बेलायतबाट फिर्ता गरिएको तोरण कुमारीघरमा पुनर्स्थापित
वसन्तपुरमा रहेको जीवित देवी श्रीकुमारीको वासस्थानबाट चोरिएको तोरण ०८२ मंसिर ५ गते पुनर्स्थापित गरिएको छ। ०५६ सालतिर चोरिएको तोरण संयुक्त राज्य बेलायतको बाराकाट संग्रहालयमा भेट्टाइएपछि फिर्ता गरेर राष्ट्रिय संग्रहालय छाउनीमा राखिएको थियो।