- अब निर्माण सुरु गर्न डिपिआर स्वीकृति र खरिद प्रक्रिया मात्रै बाँकी, करिब ११ अर्ब अनुदान दिने चीन आफैँले ठेकेदार छनोट गर्ने, एक वर्षभित्र निर्माण सुरु हुने
काठमाडौं चक्रपथको ८.२ किलोमिटर लामो कलंकी–वसुन्धारा खण्ड स्तरोन्नतिका लागि चीनसँग कार्यान्वयन सम्झौता भएको छ । चीनको प्राविधिक तथा आर्थिक सहयोगमा स्तरोन्नति हुने सो सडक विस्तारका लागि बुधबार द्विपक्षीय कार्यान्वयन सम्झौता भएको छ । भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकासमन्त्री सुनील लम्साल र नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङबिच उक्त सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो ।
गत १२ फागुनको मन्त्रिपरिषद् बैठकले कलंकी–वसुन्धाराको निर्माणमा चीनलाई सबै प्रकृतिको करमा छुट दिने निर्णय गरिसकेको छ । ‘चीन सरकारको अनुदान सहयोगमा निर्माण तथा स्तरोन्नति हुने कलंकीदेखि वसुन्धरासम्मको काठमाडौं चक्रपथ सुधार आयोजना कार्यान्वयन सम्झौतामा उल्लेखित विषयहरूमा कर छुट दिने,’ मन्त्रिपरिषद्को निर्णयमा भनिएको थियो । त्यसपछि चीनसँग कार्यान्वयन सम्झौता गर्ने बाटो खुला भएको हो ।
मन्त्रालयका प्रवक्ता रामहरि पोखरेलले चक्रपथ दोस्रो खण्ड विस्तारका लागि चीनसँग कार्यान्वयन सम्झौता भएको बताए । ‘चक्रपथ दोस्रो खण्ड विस्तारका लागि चीनसँग कार्यान्वयन सम्झौता भएको छ । अब यसको थप प्रक्रिया अघि बढ्नेछ,’ उनले भने । योसँगै अब चीनले सडक विभागलाई परियोजनाको डिपिआर बुझाउनेछ ।
चीनको आर्थिक तथा प्राविधिक सहयोगमा बन्ने यो परियोजना सात वर्षदेखि अलपत्र थियो । सोहीक्रममा पछिल्लोपटक ६ भदौ ०८१ मा ८.२ किलोमिटर लामो उक्त सडक खण्ड विस्तार गर्न चीन र नेपालबिच अनुदान सम्झौता भएको थियो । त्यसपछि चीनको सिसिसिसी फर्स्ट हाइवे कन्सल्ट्यान्ट्स कम्पनी लिमिटेडले परियोजनाको डिपिआर बनाउने प्रक्रिया अघि बढाएको थियो । उक्त कम्पनीले परियोजनाको डिपिआरसँगै ‘बिड डकुमेन्ट’ पनि तयार गरिसकेको छ । कार्यान्वयन सम्झौता गरेपछि डिपिआर बुझाउने चीनको तयारी थियो । बुधबार कार्यान्वयन सम्झौता भएसँगै अब चीनले परियोजनाको डिपिआर पनि बुझाउनेछ । सडक विभागका उपमहानिर्देशक अर्जुनप्रसाद अर्यालले अब चीनबाट डिपिआर पनि प्राप्त हुने बताए । ‘चीनले परियोजनाको डिपिआर यसअघि नै तयार गरिसकेको थियो । तर, कार्यान्वयन सम्झौता भएपछि मात्रै डिपिआर बुझाउने भनिएको थियो,’ उनले भने, ‘बुधबार कार्यान्वयन सम्झौता भएसँगै अब चीनले डिपीआर पनि बुझाउनेछ ।’
डिपिआर सडक विभागबाट स्वीकृति भएपछि चीनले निर्माणको काम सुरु गर्न सक्नेछ । डिपिआर अध्ययन तथा स्वीकृति, खरिद प्रक्रियालगायतका चरण पूरा गर्दा अब ६ महिनादेखि एक वर्षमा निर्माण सुरु हुने अपेक्षा गरिएको छ । आर्थिक र प्राविधिक सहयोग गरेको चीनले आफैँ ठेकेदार कम्पनी छनोट गरेर निर्माणका लागि परिचालन गर्नेछ । निर्माणका काम सम्पन्न भएपछि चीनले नेपाल सरकारलाई परियोजना हस्तान्तरण गर्नेछ ।
परियोजनाको निर्माण कार्य सम्पन्न हुन चार वर्ष लाग्ने अनुमान छ । परियोजनामा चीनले ५६ करोड ६० लाख चिनियाँ युआन अनुदानस्वरूप खर्च गर्दै छ, जुन नेपाली रुपैयाँमा झन्डै ११ अर्ब रुपैयाँ हुनेछ । निर्माणका क्रममा चीनले सम्पूर्ण कर छुट पाउनेछ ।
सम्झौतापछि मन्त्री लम्सालले परियोजना कार्यान्वयनका क्रममा समस्या उत्पन्न भए एक दिनमै समाधान गर्दै आवश्यक सहजीकरण गरिने प्रतिबद्धता व्यक्त गरे । उत्तर–दक्षिण जोड्ने सडक निर्माण सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै नेपालको पूर्वाधार विकासमा चीन सरकारबाट थप लगानीको अपेक्षा रहेको उनको भनाइ छ । त्यसैगरी, चिनियाँ राजदूत माओमिङले उपयुक्त लगानी वातावरण बनेमा धेरै चिनियाँ लगानीकर्ता नेपालमा लगानी गर्न इच्छुक रहेको बताए ।
चीनकै अनुदानमा सन् १९७७ मा २७ किलोमिटर लामो चक्रपथ निर्माण गरिएको थियो । त्यसलाई चीनकै अनुदानमा विस्तार गर्ने गरी पहिले नै द्विपक्षीय सम्झौता भएको थियो । सोहीअनुसार चीनले पहिलो चरणमा चक्रपथको कोटेश्वर–सातदोबाटो–एकान्तकुना–कलंकी खण्डको विस्तार गर्ने काम ०७५ मै सम्पन्न गरिसकेको छ । त्यसलगत्तै दोस्रो खण्ड विस्तार गर्ने गरी २०७५ मै नेपाल र चीनबिच सम्झौता भएको थियो । सम्झौता भएको सात वर्षपछि निर्माण सुरु हुने संकेत देखिएको छ ।
दोस्रो चरणमा कलंकी–धोबीखोला खण्ड (११.६ किलोमिटर)लाई विस्तार गर्ने भनिएको थियो । तर, नारायणगोपाल चोकदेखि धोबीखोलासम्म साइट क्लियरेन्स हुन नसकेपछि चीनले कलंकी–वसुन्धारा खण्ड (८.२ किलोमिटर) मात्रै विस्तार गरिँदै छ । चीनले यसअघि नै पठाएको ‘टेक्निकल कन्फरमेसन’अनुसार चीनको सहरी सडकको स्ट्यान्डर्डमा चक्रपथ विस्तार गरिँदै छ ।
दोस्रो खण्डको चौडाइ ६२ मिटर हुनेछ । त्यसमा बिचका ३७.५ मिटरमा मुख्य संरचना बन्नेछन् । बिचमा तीन मिटरको सेन्टर मिडियन (बिचमा खाली ठाउँ) राखिनेछ । सोही मिडियनको दायाँ–बायाँ चार–चार लेनको मुख्य सडक बनाइनेछ । एउटा लेनको चौडाइ ३.५ मिटरको दरमा दुवैतर्फ १४–१४ मिटरको सडक हुनेछ । लेन र डिभाइडर छुट्याउँदा दुवैतर्फ थप ०.५–०.५ मिटर खण्ड प्रयोग हुनेछ ।