हेटौँडा–ढल्केबर प्रसारणलाइनको पश्चिम खण्डको काम सुरु

बुधबार, १६ बैशाख, २०८३
डिजिटल संस्करण

वर्षौँदेखि अवरुद्ध हेटौँडा–ढल्केबर चार सय केभी प्रसारणलाइनको पश्चिम खण्ड (हेटौँडाको हटिया क्षेत्र)मा टावर राख्ने कार्य अगाडि बढेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको पहलमा सरोकार पक्षसँग भएको सहमतिपछि टावर राख्ने कार्य अगाडि बढेको हो ।

मन्त्री श्रेष्ठले यसै साता जग्गाधनी र त्यस क्षेत्रका जनप्रतिनिधिसँग छलफल गरी मुआब्जा विवादलाई टुंग्याएका थिए । टावर निर्माण हुने क्षेत्रका जग्गाधनीले मुआब्जा स्वीकार गरेपछि एक साताभित्रै सातवटा टावरको जग खन्ने र कंक्रिटिङ गर्ने कार्य तीव्र गतिमा अगाडि बढेको छ । 

सन् २०१२ बाट निर्माण सुरु भएको सो प्रसारणलाइनअन्तर्गत हेटौँडाको हटिया क्षेत्रमा १४ वटा टावर निर्माण हुन नसक्दा वर्षौँदेखि अलपत्र परेको थियो । नेपालको विद्युत् प्रणालीको मेरुदण्डका रूपमा लिइने यस परियोजना सम्पन्न भएपछि विद्युत् आपूर्ति प्रणाली विश्वसनीय हुनुका साथै निर्यातका लागि पूर्वाधार तयार हुनेछ । 
यो प्रसारणलाइन निर्माणले निजी क्षेत्रलाई ठुलो राहत प्रदान गर्नेछ । सोही परियोजनाको पूर्वी खण्ड (ढल्केबर–इनरुवा) तीन वर्षअगाडि नै सम्पन्न भइसकेको छ ।

सुझावित समाचार