धादिङमा अब घरमै राहदानी पुग्ने

मंगलबार, १५ बैशाख, २०८३
डिजिटल संस्करण

जिल्ला प्रशासन कार्यालय धादिङ र जिल्ला हुलाक कार्यालयबिच सेवाग्राहीको घरमै राहदानी (पासपोर्ट) पुर्याउने सम्बन्धी औपचारिक सम्झौता भएको छ ।जिल्लाभरका सबै स्थानमा हुलाकमार्फत सेवाग्राहीको घरमै राहदानी पुर्याउने गरी मंगलबार दुई कार्यालयबिच सम्झौता गरिएको हो ।नेपाल सरकार मन्त्रिपरिषद्को २०८२ चैत १३ गते बसेको बैठकबाट शासकीय सुधारसम्बन्धि एक सय कार्यसूची सार्वजनिक गरेको थियो । सोही अनुसार सरकारी सेवा घरमै उपलब्ध गराउने उद्देश्यले दुई सेवा प्रदायकबिच मंगलबार सम्झौता गरिएको हो । 

बैशाख ७ गतेबाट बनाइएका सबै राहदानी सेवाग्राहीहरुको चाहना र आवश्यकता अनुसार घर घरमा पुर्याइने धादिङका प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीले बताए । ‘राहदानी आवेदन दिने क्रममा सेवाग्राहीले राहदानी कहाँ लिने भनेर भरेको आधारमा हुलाक सेवामार्फत घरमै डेलिभरी दिने व्यवस्था मिलाइएको छ । जिल्ला प्रशासन कार्यालय वा घरमै नागरिकता लिन सकिने प्रावधान रहेको छ’ उनले भने । 

जिल्लाका विकट क्षेत्रहरूबाट मोटो रकम खर्चिएर पासपोर्ट लिन सदरमुकामसम्म आउनुपर्ने बाध्यता हट्ने उनले बताए। ‘राहदानी बनाउन बायोमेट्रिकका लागि सेवाग्राही प्रशासन कार्यालय आउनै पर्ने भए पनि, राहदानी तयार भइसकेपछि भने घरमै पुर्याउँदा उनीहरूको समय र खर्च बचत हुन्छ। अहिले तत्कालका लागि स्थायी ठेगाना र जिल्ला प्रसाशनबाट लिने व्यवस्था छ। अन्तरपालिकामा पनि दिने व्यवस्था आए त्यो पनि गर्न सकिन्छ’ उनले भने। 

‘नागरिकलाई प्रवाह गर्ने अन्य सेवाहरु पनि घरदैलोसम्म पुर्याउन यो सेवाबाट सिकाइ हुन्छ । नागरिकता, राष्ट्रिय परिचय पत्र लगायत अन्य सेवाहरु पनि घरदैलोमा दिन सक्ने अवस्था रहन सक्छ । यस्ता सेवा घरदैलोमै पाएबापत सेवाग्राहीले अतिरिक्त शुल्क तिर्नु पर्दैन’ उनले भने,‘अहिलेको माग अनुसार घरदैलोमा सेवा दिन कर्मचारी पर्याप्त छन् । माग बढी भएमा जनशक्ति थप गर्नु पर्ने पनि हुन सक्छ । नागरिकलाई सहज र घरदैलोमै सेवा दिन हामी तत्पर छौं ।’

जिल्ला हुलाक कार्यालय धादिङका हुलाक अधिकृत नारायण प्रसाद पोखरेलले जिल्लाको सदरमुकाममा सोहि दिन, नीलकण्ठ नगरपालिकामा तीन दिन र अन्य स्थानीय तहहरुमा डाँक ढुवानी तालिका बमोजिम पालिका हुलाक कार्यालयमा पुर्याई चाँडो सेवाग्राहीको हातमा पार्ने बताए । ‘नीलकण्ठ नगरपालिका क्षेत्रभित्र आजैदेखि र जिल्लाका अन्य पालिकाहरुमा जेठ १ गतेदेखि राहदानी वितरण सुरु गर्छाैं’ उनले भने । 

See More On

सुझावित समाचार