सशस्त्र प्रहरी बल (एपिएफ)को महानिरीक्षक (आइजिपी) पदमा नारायणदत्त पौडेललाई बढुवा गरिएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई सशस्त्रको १३औँ आइजिपीमा नियुक्त गर्ने निर्णय गरेको हो ।
चारवर्षे कार्यकाल पूरा गरी राजु अर्याल अनिवार्य अवकाशमा गएपछि पौडेलले सशस्त्रको नेतृत्व सम्हाल्ने भएका हुन् । पौडेल र अर्याल एउटै ब्याचका अधिकृत क्याडेट हुन् । उनीहरूले १८ चैत ०५४ मा नेपाल प्रहरीबाट सेवा सुरु गरेका थिए र ४ वैशाख ०५८ मा सशस्त्र प्रहरी बलमा स्थानान्तरण भएका थिए ।
एउटै मितिमा सेवा सुरु गरेका अधिकृतहरू आइजिपी बन्ने सशस्त्र प्रहरी बलमा यो दोस्रो घटना हो । यसअघि शैलेन्द्र खनाल र पुष्पराम केसी पनि एउटै ब्याचबाट आइजिपी बनेका थिए । खनालले २७ चैत ०७४ मा आइजिपीको जिम्मेवारी सम्हालेका थिए भने चारवर्षे कार्यकालपछि अवकाश पाएलगत्तै उनकै ब्याची केसी आइजिपी बनेका थिए । केसीको कार्यकाल भने केवल २१ दिनको थियो ।
पौडेलले अब करिब २३ महिना सशस्त्र प्रहरी बलको नेतृत्व गर्नेछन् । उनी ०७९ जेठ ६ मा एआइजी पदमा बढुवा भएका थिए । स्नातकोत्तर तहसम्म अध्ययन गरेका पौडेल सुप्रबल जनसेवाश्री, प्रबल जनसेवाश्री (चौथो), गोरखा दक्षिण बाहु (चौथो) र प्रदेश सेवा पदकजस्ता सम्मानबाट विभूषित छन् । साथै, शान्ति मिसनअन्तर्गत लाइबेरिया र कोसोभोमा उत्कृष्ट कार्य सम्पादन गरेबापत उनले युएन पदक पनि प्राप्त गरेका छन् ।
पौडेलले सुरक्षा, आतंकवाद नियन्त्रण, नेतृत्व विकास तथा अन्तर्राष्ट्रिय सहकार्यसम्बन्धी विभिन्न तालिम, सेमिनार र गोष्ठीहरूमा सहभागिता जनाएका छन् । उनले विशेष सशस्त्र तथा युद्धकला तालिम, सशस्त्र प्रहरी सहिष्णुता तालिम, गुल्मपति तथा स्टाफ तालिमसमेत लिएका छन् ।