महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यक्रमहरू सम्पन्न गरेको छ। बैंकले लुम्बिनी वर्ल्ड पिस फोरमसँगको सहकार्यमा ‘१० लाख वृक्षारोपण तथा संरक्षण अभियान’अन्तर्गत पृथ्वी दिवसको अवसर पारेर खप्तड छेडेदह गाउँपालिका– १, काँडामा दुई हजारवटा कागतीको बिरुवा रोप्न आर्थिक सहयोग गरेको छ।
त्यसैगरी, क्यान्सर रोगको प्रारम्भिक पहिचान, रोकथाम तथा उपचारबारे जनचेतना अभिवृद्धि कार्यक्रम सम्पन्न गर्न तथा सोही कार्यक्रमबाट संकलित रकम कान्ति बाल अस्पतालको क्यान्सर वार्डमा हस्तान्तरण गर्न आयोजना गरिएको कार्यक्रमलाई बैंकले आर्थिक सहयोग गरेको छ।
बैंकले युद्ध संस्कृत माध्यमिक विद्यालय, नेपालगन्ज बाँकेमा अध्ययनरत विद्यार्थीलाई पठनपाठनमा सहयोग गर्ने उद्देश्यले शैक्षिक सामग्री वितरण गरेको जनाएको छ।
त्यसैगरी, युवाहरूमाझ जिम्मेवार वित्तीय सचेतना र व्यावहारिक आर्थिक ज्ञान प्रवर्द्धन गर्न, वित्तीय साक्षरता विस्तार गर्न, शैक्षिक तथा ज्ञानमा आधारित सामाजिक विकासमा टेवा पुर्याउने उद्देश्यले सातौँ नेपाल इकोनोमिक ओलम्पियाडलाई आर्थिक सहयोग गरेको छ।
गत चैत २ देखि ८ गतेसम्म साताव्यापी रूपमा मनाइएको ग्लोबल मनी विकको अवसरमा वित्तीय पहुँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्गहरू पहिचान गरी बैंकका देशैभर रहेका शाखा तथा प्रादेशिक कार्यालयहरूमार्फत वित्तीय साक्षरता, र्याली तथा सचेतनाका कार्यक्रमहरू सम्पन्न गरेको छ।