पश्चिम एसियामा बढ्दो तनाव र त्यसको प्रभावस्वरूप इन्धन तथा निर्माण सामग्रीमा भएको अत्यधिक मूल्यवृद्धिले निर्माण क्षेत्र गम्भीर संकटमा परेको भन्दै बागमती प्रदेश निर्माण व्यवसायी महासंघले तत्काल सरकारी हस्तक्षेपको माग गरेको छ।
हेटौँडामा आइतबार पत्रकारहरूसँग कुरा गर्दै महासंघका बागमती प्रदेश अध्यक्ष छत्रबहादुर तामाङले डिजेल, पेट्रोल, मट्टीतेललगायत इन्धन तथा बिटुमिन, सिमेन्ट तथा फलामजन्य डन्डीजस्ता निर्माण सामग्रीको मूल्य अप्रत्याशित रूपमा बढ्दा विकास निर्माणका काम लगभग ठप्प हुने अवस्थामा पुगेको बताए।
उनले पश्चिम एसियामा जारी युद्धका कारण आपूर्ति शृंखला प्रभावित भई बजारमा सामग्रीको अभावका साथै अप्रत्याशित मूल्यवृद्धिले भौतिक निर्माणका सम्पूर्ण काममा अवरोध सिर्जना भएको बताए। ‘निर्माण सामग्रीको मूल्यवृद्धि र अभावले राष्ट्रिय गौरवका आयोजनादेखि साना–ठुला सबै आयोजना प्रभावित भएका छन्,’ उनले भने।
निर्माण क्षेत्रको संकटले मुलुकको समग्र अर्थतन्त्रमा नकारात्मक असर पर्नुका साथै लाखौँ श्रमिकको रोजगारीसमेत जोखिममा परेको उनले बताए। महासंघले विगत दुई महिनादेखि सरकार र सम्बन्धित निकायलाई समस्या समाधानका लागि ध्यानाकर्षण गराउँदै आए पनि ठोस निर्णय नभई मौखिक आश्वासन मात्रै प्राप्त भएको अध्यक्ष तामाङले बताए।
उनका अनुसार राष्ट्र बैंकको मूल्य सूचकांकले बजारको वास्तविक मूल्यवृद्धि प्रतिबिम्बित गर्न नसक्दा निर्माण व्यवसायी थप मारमा परेका छन्। ‘बजारमा सामग्रीको मूल्य बढिरहेको छ, तर सूचकांकमा घटेको देखाउने प्रवृत्तिले उद्योग थप समस्यामा परेको छ,’ उनले भने। तामाङले तत्काल ‘मूल्य समायोजन मार्गनिर्देशिका–२’ जारी गरी आयोजनाहरूमा मूल्यवृद्धिअनुसार लागत समायोजन गर्न माग गरे।
साथै, हालको परिस्थितिमा निर्माण कार्य निर्धारित समयमै सम्पन्न हुन नसक्ने भएकाले सबै आयोजनाको म्याद थप गर्नुपर्ने स्पष्ट पारे। यसका अतिरिक्त बैंक ग्यारेन्टी, बिमा तथा थप क्षतिपूर्तिसहित राहत प्याकेज उपलब्ध गराउनसमेत उनले आग्रह गरे।
‘निर्माण क्षेत्रका समस्या तत्काल सम्बोधन नभए उद्योग धराशायी हुन्छ र विकास आयोजनाहरू थप अनिश्चिततामा पर्नेछन्। जसको जिम्मेवारी सरकारमै पर्नेछ,’ उनले भने।