धनगढी–जनकपुर रुटमा सुविधायुक्त बस सञ्चालन

शुक्रबार, ११ बैशाख, २०८३
डिजिटल संस्करण

सुदूरपश्चिमलाई धार्मिक नगरी जनकपुरसँग जोड्ने उद्देश्यसहित सुन्दर सुदूरपश्चिम यातायात प्रालिले आजदेखि धनगढी–जनकपुरसम्म सुविधायुक्त बससेवा सञ्चालनमा ल्याएको छ। एसी, सोफासहित ‘राज सिंहासन’ नाम दिइएको बससेवा शुक्रबारबाट नियमित सञ्चालनमा आएको हो।

धनगढी–जनकपुर–धनगढी रुटमा दैनिक रूपमा चल्ने यस बससेवाले लामो दूरीका यात्रुलाई सहज, सुरक्षित र आरामदायी यात्रा प्रदान गर्ने विश्वास लिइएको छ। आधुनिक सुविधायुक्त बसले धार्मिक तथा आन्तरिक पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने समितिले जनाएको छ।

सुन्दर सुदूरपश्चिम यातायात प्रालिका अध्यक्ष पदमराज सापकोटाले धनगढीलाई धार्मिक पर्यटकीय सहर जनकपुरसँग सिधा रूपमा जोड्ने उद्देश्यसहित आधुनिक बससेवा सञ्चालनमा ल्याइएको बताए। ‘यस सेवाले यात्रुहरूको समय बचत गर्नुका साथै सहज र आरामदायी यात्रा अनुभव दिलाउने छ,’ उनले भने।

व्यवसायी श्रवण जयसवाल र उमेश यादवको लगानीमा बससेवा सञ्चालनमा ल्याइएको हो। नयाँ बससेवा सञ्चालनसँगै सुदूरपश्चिम र मधेश प्रदेशबिचको आवागमन सहज हुनुका साथै धार्मिक पर्यटन प्रवर्द्धनमा समेत सकारात्मक प्रभाव पर्ने समितिको दाबी छ।

सुझावित समाचार