सामाजिक सञ्जाल टिकटक प्रयोग गरी महिलालाई उपहार पठाएको बहानामा रकम असुल्ने कार्यमा संलग्न रहेको आरोपमा एक युवक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा इलामको फाकफोकथुम गाउँपालिका– ६ का २७ वर्षीय सुजन लिम्बू उर्फ सुसन थेगिम रहेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उनले ‘रोहन राजपूत’ नामक टिकटक आइडी सञ्चालन गरी नेपाली महिलासँग चिनजान बढाउँदै संवाद गर्ने गरेका थिए।
प्रहरी अनुसन्धानबाट प्रारम्भिक चिनजानपछि उनले विभिन्न प्रलोभन देखाउँदै विश्वास जित्ने प्रयास गरेको खुलेको छ। उनले डलर, गरगहनालगायतका उपहार पठाइसकेको र ती सामग्री काठमाडौं विमानस्थलस्थित डिएचएल शाखामा आइपुगेको भन्दै सन्देश पठाउने गरेका थिए।
उक्त सामान बुझ्न भन्सार शुल्क तिर्नुपर्ने बहानामा रकम माग्दै उनले पीडितहरूलाई झुक्याउने गरेको प्रहरीले जनाएको छ। यस क्रममा ह्वाट्सएपमार्फत संवाद गराउँदै विभिन्न बैंक खातामा रकम जम्मा गर्न लगाइएको र हालसम्म करिब दुई लाख रुपैयाँ ठगी गरेको प्रारम्भिक विवरण सार्वजनिक गरिएको छ।
पक्राउका क्रममा उनको साथबाट मोबाइल फोन र सिमकार्ड बरामद गरिएको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानअनुसार उनले ह्वाट्सएपमार्फत ४० भन्दा बढी महिलासँग सम्पर्क गरेको देखिएको छ।
आरोपीमाथि ठगी कसुरमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। साथै, प्रहरीले यस्ता अनलाइन प्रलोभन र ठगीका घटनाप्रति सतर्क रहन सर्वसाधारणलाई आग्रह गरेको छ।