बर्दियाको राजापुर नगरपालिकाले विद्यार्थी भर्ना अभियान सुरु गरेको छ। पालिकाको शिक्षा समितिको बैठकले संघ सरकारको निर्णयविपरीत बिहीबारदेखि भर्ना अभियान सञ्चालन गर्ने निर्णय गरेको हो।
पालिकाले सम्पूर्ण सामुदायिक र संस्थागत विद्यालयलाई वैशाख १० देखि १५ गतेसम्म भर्ना अभियान सञ्चालन गर्न र वैशाख १६ गतेबाट पठनपाठन सञ्चालन गर्न पत्राचार गरेको छ। त्यसैगरी, सामुदायिक विद्यालय पाठ्यपुस्तक वितरणलगायत अन्य कामहरू वैशाख १५ गतेभित्र सम्पन्न गर्नुपर्ने पालिकाले जनाएको छ।
सामुदायिक विद्यालयहरूको वार्षिक कार्यतालिका, कार्यपात्रो र शैक्षिक योजनालगायतका काम वैशाख १५ गतेभित्रमा बनाई शिक्षा, युवा तथा खेलकुद शाखामा अनिवार्य पेस गर्न भनिएको पालिकाका शिक्षा निर्देशक टीकानाथ गोसाईंले बताए।
ठाकुरबाबा नगरपालिकाले यसअघि नै वैशाख ८ गतेबाट भर्ना अभियान चलाइसकेको छ।