मनहरी गाउँपालिकाबाट करदाता सेवा सुरु, मकवानपुरमै पहिलो

बुधबार, ९ बैशाख, २०८३
डिजिटल संस्करण

मकवानपुर जिल्लामै पहिलोपटक मनहरी गाउँपालिकाबाट करदाता सेवा औपचारिक रूपमा सुरु गरिएको छ। बुधबार आयोजित कार्यक्रममा व्यक्तिगत तथा व्यावसायिक स्थायी लेखा (प्यान) नम्बर  जारी गर्दै सेवाको शुभारम्भ गरिएको हो।

आन्तरिक राजस्व कार्यालय हेटौँडाका प्रमुख युक्तप्रसाद सुवेदी र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदीबिच समझदारीपत्रमा हस्ताक्षर गरेपछि सेवा सञ्चालनमा आएको हो। संघीय सरकारको गत कात्तिक १७ गतेको निर्णयअनुसार स्थानीय तहबाटै करदाता सेवा प्रदान गर्ने नीति अनुरूप मकवानपुरमा पहिलोपटक यस्तो सेवा सुरु गरिएको गाउँपालिकाले जनाएको छ।

कार्यक्रममा पहिलोपटक व्यक्तिगत प्यान लिने निर्मला मल्ल र अनमोल गोले तथा व्यावसायिक प्यान लिने सिर्जना टेलर्सकी सञ्चालकलाई प्रमाणपत्र वितरण गरिएको थियो। गाउँपालिका अध्यक्ष रन्जन कालाखेती, आन्तरिक राजस्व कार्यालयका प्रमुख सुवेदी तथा प्रमुख प्रशासकीय अधिकृत सुवेदीले संयुक्त रूपमा प्रमाणपत्र हस्तान्तरण गरेका थिए।

अब गाउँपालिकाबाटै व्यक्तिगत तथा व्यावसायिक प्यान जारी, प्यान रूपान्तरण, आयकर दर्तालगायतका सेवा उपलब्ध हुनेछन्। साथै अन्तःशुल्कसम्बन्धी इजाजतपत्र जारी तथा नवीकरणका लागि आवश्यक कागजात संकलन र सहजीकरण पनि स्थानीय तहबाटै हुने जनाइएको छ।

कार्यविधिअनुसार अन्तःशुल्कसम्बन्धी कागजातहरू स्थानीय तहबाट रुजु गरी प्रमाणीकरणका लागि सम्बन्धित आन्तरिक राजस्व कार्यालयमा पठाइनेछ भने अन्तिम स्वीकृति कर अधिकृतबाट डिजिटल हस्ताक्षरमार्फत हुने व्यवस्था गरिएको छ।

सेवा सञ्चालनका लागि गाउँपालिकाका तीन कर्मचारीलाई आन्तरिक राजस्व कार्यालय हेटौँडाले तालिम दिएको र आवश्यक उपकरणसमेत व्यवस्थापन गरिएको छ। गाउँपालिकाबाटै सेवा सुरु भएपछि करदातालाई समय र खर्च दुवै बचत हुने तथा सेवा छिटो र सहज रूपमा प्राप्त हुने अध्यक्ष कालाखेतीले बताए।

यसअघि कोष तथा लेखा नियन्त्रक कार्यालयमार्फत सुरु गरिएको यस्तो सेवा अब स्थानीय तहबाटै प्रदान गरिने भएको हो। सरकारले करदाता सेवा कार्यालय खारेज गर्ने निर्णय गरेसँगै स्थानीय तहमा सेवा विस्तार गरिएको हो।

सुझावित समाचार